newa srijana

डा. हरिश्चन्द्र भण्डारीलाई  ‘ वर्ष ज्योतिषी सम्मान– २०८३ ’

ज्योतिषीय अध्ययन, प्रशिक्षण र परामर्शसँगै शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर

 

पोखरा। ज्योतिष परिषद् नेपालले पहिलोपटक प्रदान गरेको ‘वर्ष ज्योतिषी सम्मान–२०८३’ बाट कास्कीका डा. हरिश्चन्द्र भण्डारी सम्मानित भएका छन् । चितवनमा आयोजित परिषद्को प्रथम साधारणसभामा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–२, सेराचौर निवासी भण्डारी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा उपप्राध्यापकका रूपमा कार्यरत छन् । उनी ज्योतिष परिषद् नेपालको गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष समेत हुन् । अध्यापन, ज्योतिषीय प्रशिक्षण, परामर्श तथा अनुसन्धानका साथै सामाजिक र धार्मिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनलाई सम्मान गरिएको हो ।

भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी शिक्षा विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका छन् । २०५५ सालमा माछापुच्छ्रे माध्यमिक विद्यालयबाट अध्यापन पेसा सुरु गरेका उनले घान्द्रुकस्थित मेश्रम बराह माध्यमिक विद्यालय र माछापुच्छ्रे शिक्षा क्याम्पसमा समेत अध्यापन गरेका थिए। २०६२ सालदेखि पृथ्वीनारायण क्याम्पसमा आबद्ध उनी २०७४ सालदेखि उपप्राध्यापकका रूपमा कार्यरत छन् ।

सिटीजन फनिच्रर

ज्योतिष शास्त्रको अध्ययन र व्यावहारिक प्रशिक्षणमा सक्रिय भण्डारीको ‘सरल पाङ फलित’ पुस्तक २०७० सालमा प्रकाशित भएको थियो । नेपाली र अंग्रेजी भाषामा उनका दुई दर्जनभन्दा बढी लेख तथा अनुसन्धानमूलक रचना प्रकाशित छन्।  विभिन्न स्मारिका तथा जर्नलमा प्रधानसम्पादक, सम्पादक, सहसम्पादक र समीक्षकका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरेका छन् ।

शैक्षिक गतिविधिसँगै सामाजिक तथा धार्मिक अभियानमा पनि उनको सक्रियता छ। उनी विश्व पञ्चाङ्ग निर्णय संघ नेपालको संस्थापक महासचिव, वैदिक धर्म परिषद् नेपालको कास्की जिल्ला समितिका अध्यक्ष तथा धनञ्जय गोत्रीय भण्डारी समाज नेपालको कास्की जिल्ला समितिका अध्यक्ष हुन् । जीवनका लागि गीताज्ञान अभियानको गण्डकी प्रदेश समितिको संयोजकका रूपमा पनि उनी क्रियाशील छन् ।

यसअघि भण्डारीले सन् २०२५ मा ‘ज्योतिष शिरोमणि रत्न अवार्ड’ प्राप्त गरेका थिए। विभिन्न दुई दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मान तथा कदरपत्र प्राप्त गरेका उनी एक दर्जनभन्दा बढी सामाजिक संस्थाका आजीवन सदस्य छन् । सेराचौरस्थित दुर्गाभवानी आदर्श सामुदायिक विद्यालयको छात्रवृत्ति अक्षयकोषमा समेत उनको योगदान रहेको छ ।

परिषद्का केन्द्रीय अध्यक्ष मेघराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथि थिए । कार्यक्रममा परिषद्का केन्द्रीय पदाधिकारी तथा सदस्य, सातवटै प्रदेश र विभिन्न जिल्ला समितिमा आबद्ध ज्योतिषीहरूको सहभागिता थियो ।

रुपा गाउँ पालिका