सुचना१
newa srijana

स्याङ्जामा प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जा जिल्लामा निर्वाचन प्रहरी भर्ना खुल्ने भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले योग्यता पुगेका नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको छ।

निर्वाचन प्रहरीको कुल २१२६ पदका लागि भर्ना खुल्ने भएको छ। यसमा नेपाल प्रहरीतर्फ १९४७ र सशस्त्र प्रहरी बल, नेपालतर्फ १७९ पद रहनेछन्। इच्छुक नागरिकहरूले २०८२/०९/२५ देखि २०८२/१०/०१ सम्म सार्वजनिक विदाको दिन पनि दरखास्त दिन सक्नेछन्। आवेदन फाराम जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ र इलाका प्रहरी कार्यालय चापाकोटबाट लिन र बुझाउन सकिनेछ।

दरखास्तका लागि आवश्यक कागजातमा पासपोर्ट साइजको हालसालै खिचिएको ५ प्रति फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, पूर्व सेवा प्रमाणपत्र (भू.पु. सुरक्षाकर्मीका लागि) र विगत निर्वाचनमा म्यादी प्रहरीको रूपमा कार्य गरेको भए सोको प्रमाणपत्र प्रतिलिपि समावेश छन्।

Pokhara महोत्सव

निर्वाचन प्रहरीमा आवेदन दिनका लागि उमेर सीमा १८–५४ वर्ष राखिएको छ। आवश्यक योग्यता अनुसार, उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनैतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपमा स्वस्थ, आतङ्ककारी वा विध्वंसात्मक संगठनमा आबद्ध नभएको हुनुपर्नेछ। पुरुष उम्मेदवारको न्यूनतम उचाई ५ फिट, छाती ३१–३३ इन्च र तौल ५० केजी, महिला उम्मेदवारको उचाई ४ फिट १० इन्च र तौल ४२ केजी तोकिएको छ। महिला उम्मेदवार गर्भवती हुनुहुन्न भन्ने पनि सर्त राखिएको छ।

छनौटमा प्राथमिकता पूर्व सुरक्षाकर्मी, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलबाट निवृत्त वा उपदान प्राप्त व्यक्ति, गत वर्ष विभिन्न पदका लागि भर्ना आवेदन दिँदै स्वास्थ्य र शारीरिक परीक्षणमा उत्तीर्ण व्यक्ति, पूर्व निर्वाचनमा म्यादी प्रहरीको रूपमा काम गरी सन्तोषजनक सेवा दिएका व्यक्ति र विदेशका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त नेपाली नागरिकलाई दिइनेछ।

छनौट प्रक्रिया २०८२/१०/०५ देखि २०८२/१०/०९ सम्म सञ्चालन हुनेछ भने अन्तिम नतिजा २०८२/१०/१२ मा सार्वजनिक गरिनेछ। तालिम कार्यक्रम २०८२/१०/१५ देखि २०८२/१०/२५ सम्म सञ्चालन हुनेछ। निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति पाएको मितिले ४० दिनको हुनेछ वा सरकारले तोकेको आधार अनुसार निर्धारण गरिनेछ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सबै योग्य नागरिकलाई आवेदन दिन आह्वान गर्दै निर्वाचनको निष्पक्ष, सुरक्षित र व्यवस्थित सञ्चालनमा सहयोग गर्न अनुरोध गरेको छ।

पुल सेन्टर
वडा नं २६