सुचना१
newa srijana

‘भाइरल गोर्खे’को पोखरा भिजिट: दर्शकको तालीले गुञ्जियो हल

हल भिजिटमा सौगात र सृष्टीले भने 'टिकटकको जमानालाई सिनेमामा उतार्‍यौं', दर्शकको प्रशंसाले उत्साहित

पोखरा। माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ। पोखराको मिडटाउन सिनेमाघरमा आइतबार आयोजित हल भिजिट तथा साक्षात्कार कार्यक्रममा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सृष्टी श्रेष्ठ सहभागी भएका थिए।

कार्यक्रममा उपस्थित दर्शकले सिनेमाप्रति अत्यन्तै प्रशंसालायक प्रतिक्रिया दिएका छन्। साक्षात्कारका क्रममा अधिकांश दर्शकले सिनेमाको कथावस्तु, समयसान्दर्भिक विषयवस्तु, पारिवारिक कथा र सामाजिक सन्देशले आफूहरूलाई छोएको बताएका थिए। हल भिजिटपछि कलाकारहरूसँग फोटो खिच्दै प्रतिक्रिया दिँदा दर्शकहरू उत्साहित र खुशी देखिए।

चलचित्र पत्रकार संघ नेपाल, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सौगात मल्लले ‘भाइरल गोर्खे’बाट राम्रो प्रतिक्रिया पाइरहेको बताए। “अहिले भाइरलको जमाना छ, विशेषगरी टिकटकमार्फत। यही समसामयिक विषयलाई आधार बनाएर यो सिनेमा निर्माण गरिएको हो,” उनले भने।

Pokhara महोत्सव

सौगातले सिनेमाको छायांकन लमजुङ जिल्लाको भुजुङ गाउँमा गरिएको जानकारी दिँदै गोरखा क्षेत्रका विभिन्न सुन्दर भूगोललाई पनि सिनेमामा समेटिएको बताए। ग्रामीण परिवेश र आधुनिक प्रवृत्तिको संयोजनले दर्शकलाई फरक अनुभूति दिएको उनको विश्वास छ।

अभिनेत्री सृष्टी श्रेष्ठले पनि सिनेमाबाट सन्तुष्ट रहेको बताइन्। सिनेमामा आफ्नो अभिनयलाई दर्शकले रुचाएको प्रतिक्रिया पाउँदा खुशी लागेको बताउँदै उनले कथावस्तु समयसान्दर्भिक भएकाले हलमा दर्शकको आकर्षण क्रमशः बढ्दै जाने विश्वास व्यक्त गरिन्। “कथा राम्रो लागेकै कारण म यो सिनेमामा अनुबन्धित भएकी हुँ,” उनले भनिन्।

निगम श्रेष्ठको कथा तथा निर्देशनमा बनेको ‘भाइरल गोर्खे’मा सौगात मल्ल, सृष्टी श्रेष्ठ, रिसी धमला, बुद्धी तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ। समयसान्दर्भिक विषयवस्तु र सामाजिक सन्देश बोकेको यो सिनेमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ।

संघका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कास्की चलचित्र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

पुल सेन्टर
वडा नं २६