पोखरा । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा मंगलबार १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मालेपाटनस्थित निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख राजनीतिक दलसहित विभिन्न साना दलका उम्मेदवारले मनोनयन पत्र बुझाएका हुन्। नेपाली कांग्रेसले मनोज गुरुङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेबाट दामोदर पौडेल बैरागी मैदानमा उत्रिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विना गुरुङलाई उम्मेदवार तोकेको छ। नेकपा माओवादी केन्द्रबाट कमल खड्का विश्वकर्मा र राप्रपाबाट अर्जुनप्रसाद खनालले उम्मेदवारी दिएका छन्।
साना दलका तर्फबाट पनि उल्लेख्य सङ्ख्यामा उम्मेदवारी परेको छ। नेपाल मातृभूमि पार्टीका ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीका कुशल थापा क्षेत्री र नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीका टेकबहादुर सार्की र उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले उम्मेदवारी पेस गरेका छन्। नेशनल रिपब्लिक नेपालका तिरथ गुरुङ, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर थापा, नेपाल मजदुर किसान पार्टीकी मिना न्हिसुतु र श्रम संस्कृति पार्टीका हितकाजी गुरुङ पनि चुनावी मैदानमा छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार सबै उम्मेदवारले विधिवत् मनोनयन पत्र पेस गरेका हुन्। फागुन २१ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आ–आफ्नो एजेन्डासहित चुनावी तयारी थालेका छन्।

कार्यालयका अनुसार फागुन १ गते मनोनयन पत्रको जाँचबुझ र आवश्यक परेमा फिर्ता लिने प्रक्रिया अघि बढ्नेछ। मनोनयन दर्ता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको कार्यालयले जनाएको छ।





