पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न भएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा आइतबार सम्पन्न मतदानमा नेकपा एमालेका उम्मेदवार नेपाली काँग्रेसका जगत तिमिल्सिना र नेपाल कम्युनिष्ट पार्टी एमालेकी सम्झना देवकोटाले विजय हासिल गरेका छन् ।
मतदानमा प्रदेश सभाका ५७ र स्थानीय तहका १६६ गरी जम्मा २ सय २३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । तिमिल्सिनाले पुरुषतर्फ ५ हजार ३३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने देवकोटाले महिलातर्फ ५ हजार १४ मत ल्याएर जित हात पार्नुभएको छ ।
निर्वाचन कार्यालयका अनुसार स्थानीय तहतर्फ १ सय २ पुरुष र ६४ महिला गरी १६६ जनाले मतदान गरे । त्यस्तै प्रदेश सभातर्फ ३७ पुरुष र २० महिला गरी ५७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ ।

यस निर्वाचनमा प्रदेश सभाका ५९ र स्थानीय तहका १ सय ६९ गरी जम्मा २ सय २८ जना मतदाता रहेका थिए तर राप्रपाका दुई प्रदेश सभा सदस्य र स्थानीय तहका तीन जना मतदाता भने मतदानमा सहभागी हुन आएनन् ।
पुरुषतर्फ नेपाल कम्युनिष्ट पार्टी उम्मेदवार कपिल लामाले ९ सय ४१ मत पाउनुभयो भने उम्मेदवार राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकर प्रसाद बरालले ७६ मत मात्र प्राप्त गर्नुभयो । महिलातर्फ नेपाल कम्युनिष्ट पार्टीकी गोमा लुइटेल घिमिरेले ९ सय ४१ र राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बास्कोटीले ५६ मत प्राप्त गर्नुभयो ।
मतगणनाका क्रममा प्रदेश सभाबाट खसेका ५७ मतमा २ जना प्रदेश सांसद र १ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको छ भने महिलामा २ जना प्रदेश सांसद र २ जना स्थानीय तह जनप्रतिनिधिको मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको थियो ।





