पोखरा । विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन यहाँस्थित प्रतिभा माविले मंगलबार गणित सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुले उक्त प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको अन्तरनिहीत ज्ञान बाहिर ल्याउनका लागि नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगिताको प्रमुख अतिथि हिसान केन्द्रीय कार्यसमितिका सल्लाहकार बाबुराम पन्तले उद्घाटन गरेका थिए ।
प्राचार्य सापकोटाका अनुसार विद्यालय विभिन्न समूहले प्रारम्भिक प्रतिश्पर्धामा भाग लिएका थिए । तिनै समूहबाट अन्तिम प्रतिश्पर्धाका लागि छानिएका ६ समूहले अन्तिम प्रतिश्पर्धा गरेका थिए ।
हरेक समूहमा ३ जनाका दरले सहभागि थिए । ‘विद्यालयस्तरको प्रतिश्पर्धा भएपनि गणित हाजिरी जवाफमा सहभागिता जनाउनु आफैमा विजयी भए सरह हो,’ प्राचार्य सापकोटाले भने, ‘आफुले आफैलाई मूल्यांकन गर्ने अवसर पनि हो । यस्ता प्रतिश्पर्धामार्फत कुनैपनि विद्यार्थीले आफु कुन ठाउँमा रहेको छु भन्ने पहिचान गर्न सक्छन् ।’

विद्यालयमा हुने यस्ता गतिविधिले विद्यार्थीले आफैले आफैलाई परीक्षण गर्न सक्ने पनि उनले बताए । प्राचार्य सापकोटाले गणित विषयको अध्ययनले जो कोही विद्यार्थीलाई सफलता दिलाउने बताए ।
जीवन कस्तो हुनुपर्छ भनेर विद्यार्थी आफैले प्रश्नको उत्तर दिन सक्ने पनि उनले बताए । ‘गणितका विद्यार्थीमा मेहनत र अनुशासन अति नै आवश्यक पर्छ,’ प्राचार्य सापकोटाले भने, ‘अध्ययनका क्रममा गणित विषय अब्बल भएमा सबै विषयमा राम्रो गर्न सकिन्छ ।’ उनले गणितको सम्बन्ध दर्शनसँग पनि जोडिएको बताए । प्रतिश्पर्धामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृति पनि गरिने उनले बताए ।
प्रमुख अतिथि पन्तले गणित विषयले हाम्रो जीवन एकअर्कासँग जोड्न सघाउने बताए । विद्यार्थीमा आफुमा कुन तहको ज्ञान छ भन्ने प्रमाणित गर्न गणितले सघाउने उनले बताए । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको क्षमता पहिचान गर्नका लागि प्रतिश्पर्धा आयोजना गरेको बताए । ‘विद्यार्थीमा फरकफरक क्षमता हुन्छन । फरक व्यक्तिसँग फरक क्षमता हुन्छ । गणितको ज्ञान हुनु अर्काे क्षमता हो,’ उनले भने, ‘किताबी बाहेक अतिरिक्त ज्ञान हासिल गर्नका लागि विद्यालयले यस्ता गतिविधि गर्दै आएको छ ।’
प्रतिश्पर्धामा अर्मत्य खड्का, गिभन अधिकारी, र सदृश श्रेष्ठको टिम प्रथम भएको थियो । त्यसैगरि यूनिक चापागाँइ, सफल थापा र सबिन नेपालीको टिम दोश्रो तथा सुशील दर्जी, निलेश धोजु र एडम कँडेलको समूह तेश्रो भएको थियो । उत्कृष्टलाई पुरस्कृत गरिएको थियो ।





