पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर – २९ भण्डारढिक स्थित लेखनाथ रङ्गशालामा फर्स्ट च्वाईस फुड्स लिमिटेडको मुख्य प्रायोजनमा आदर्श युथ क्लबले आयोजना गरेको २६ औँ आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो सेमीफाइनल खेल जिल्ला फुटबल सङ्घ तनहुँ र गण्डकी प्रदेश प्रहरी पोखराबीच सम्पन्न भएको छ।
उक्त खेलमा जिल्ला फुटबल संघ तनहुँलाई एक शुन्यको साँघुरो नतिजामा पराजित गर्दै गण्डकी प्रदेश प्रहरी यस प्रतियोगितामा पहिलोपटक उपाधि नजिक पुगेको हो।प्रहरीको जितमा बिबेक गुरूङले एकमात्र निर्णायक गोल गरेका थिए। गुरुङले खेलको ३३ औ हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। त्यसपश्चात बाँकी समय दुबै टोलीबाट थप गोल हुन नसक्दा उक्त गोल नै निर्णायक हुन पुगेको हो। साथै

उक्त खेलको म्यान अफ दी म्याच प्रहरीका मिडफिल्डर रोजल दाहाल बन्दै नगद रु. पॉच हजार सहित ट्रफि प्राप्त गरेका छन।
बुधबार अन्तिम सेमिफाइनल खेल होराइजन क्लब वालिङ स्याङ्जा र जिल्ला खेलकुद विकास समिति म्याग्दी दिनको ठिक १ बजे लेखनाथ रङ्गशाला पोखरामा प्रतिस्पर्धा गर्नेछन्।
मोफसलका चिरपरिचित आठ टोलीहरुको सहभागी रहेको उक्त प्रतियोगिताको बिजेताले नगद रु. ४,९९,९,९९ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले नगद रु.३,३३,३,३३ रुपैया प्राप्त गर्नेछ। व्यक्तिगत विधातर्फको उत्कृष्ट खेलाडीले जनहि नगद रु.१५००० प्राप्त गर्नेछन् भने प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडीले नगद रु.२५ हजार प्राप्त गर्नेछ। प्रतियोगिताको समापन भने माघ सोह्र गते हुने आयोजक कमिटीले जानकारी दिएको छ।





