पोखरा । प्रेम दिवसको अवसरमा पोखरामा पपगायक सुगम पोखरेलको कन्सर्ट ‘मेरो एउटा साथी’ हुने भएको छ । ‘प्रेमिल मनका लागि’ १४ फेब्रुअरीमा सुगम र बाजागाजा ब्याण्डले प्रस्तुति दिने भएको हो ।
पोखराको लेभल्स क्लबमा मेन मिडिया र एसटी क्रियसनको आयोजनामा नेपाली पपगीतका प्रशिद्ध गायक पोखरेललाई प्रस्तुत गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
लोकप्रिय गायक सुगमले आफ्ना रोज्जा प्रेम गीत प्रस्तुत गर्ने मेन मिडियाका प्रवन्ध निर्देशक सुन्दर बस्यालले जानकारी दिए । जीवनमा गास, बास, कपाससँगै अर्को प्रेम पनि अनिवार्य रहेको बताउँदै बस्यालले त्यसलाई संगीतले जोड्ने विश्वास व्यक्त गरे ।
सुगमलाई अर्का चर्चित गायक कमल र केही अन्य चर्चित कलाकारको पनि प्रस्तुति रहने आयोजक एसटी क्रियसनका प्रवन्ध निर्देशक सुरज थापाले बताए ।
‘सुगम नेपाली संगीतको क्षेत्रमा आफैं एक ब्राण्ड हुन् । उनका गीतहरुले प्रेम दिवसमा तन्नेरीहरुलाई झुमाउने छ,’ थापाले भने, ‘प्रेम र संगीतमा नयाँ स्वाद पस्किने जमर्को हामीले गरेका छौं ।’

मैत्रीभाव, प्रेम र एकताका भाव बोकेका सदाबहार गीतमार्फत सबै उमेर समूहका दर्शकलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको बस्यालले बताए ।
नेपाली पपलाई मुख्यधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका सुगमले ‘मेरो संसार’, ‘फेरि त्यो दिन सम्झन चाहन्न’ लगायतका सयौं कालजयी गीतमार्फत माहोल तताउने छन् ।
पत्रकार सम्मेलनमा बोल्दै गायक विनोद बानियाले प्रणय दिवसमा प्रेमको भाव बोकेका गीत–संगीत मार्फत दर्शकले मनोरञ्चन लिन सक्ने बताए । यस्ता गतिविधिले सहरलाई जिवन्त राख्ने उनको भनाइ थियो । प्राविधिक कारणले आफ्नो सांगीतिक समूह जोडिन नपाए पनि सुगमको प्रस्तुतिले नै सबैलाई जोड्ने बानियाले बताए ।
चुनावी गतिविधि भइरहेको र मतदानको मितिसमेत नजिकै रहेकाले क्लबभित्र कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
लेभल्समा करिब ७ सय जनाले प्रत्यक्ष रुपमा कार्यक्रमको अवलोकन गर्न क्लबका सञ्चालक अमित रोकाले बताए । सुरक्षाको व्यवस्थापनमासमेत कुनै कमी नरहेको उनको भनाइ थियो ।
कार्यक्रमको लागि ९ सय ९९ रुपैयाको टिक इसेवा मार्फत खरिद गर्न सकिने र कार्यक्रम स्थलमा टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।





