पोखरा ।चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा २०८२ माघ १८ गते निवर्तमान केन्द्रीय अध्यक्ष स्वर्गीय दिनेश सिटौला र २०८२ माघ २४ गते वरिष्ठ कलाकार स्वर्गीय सुनिल थापाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम भएको छ। मंगलबार संघका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा पोखराको सहिद चोकमा सम्पन्न उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरू उपस्थित थिए।
कार्यक्रममा कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ, कपिल शर्मा, चलचित्र निर्माता विनोद शेरचन, निर्देशक घनश्याम लामिछाने, नेत्र गुरुङ र संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायतले दिवंगत व्यक्तित्वहरूको योगदानको चर्चा गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।
कलाकार प्रकाश घिमिरेले दिवंगत दुवैको चलचित्र क्षेत्रका लागि योगदानको स्मरण गर्दै दुवैबाट चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण काम भएको बताए । कलाकार माओत्से गुरुङले आफूले दुवैसँग नजिकको सम्बन्ध राखेको र अचानक निधनले पत्याउन गाह्रो भएको सुनाए। “अस्ति भर्खरैसम्म हाम्रो कुरा चलिरहेको थियो, तर आज उहाँहरु दुवै यो संसारमा हुनुहुन्न। चलचित्र क्षेत्रले सधैं उहाँहरूको योगदानको कदर गर्नेछ,” उनले भने।

कन्यादान, बादलपारी, साइनो लगायतका चलचित्रका निर्माता विनोद शेरचनले चलचित्र क्षेत्रको विकासमा दुवैको योगदान अविस्मरणीय रहेको बताए । संस्थापक अध्यक्ष श्रीराम सिग्देलले दिवंगत दिनेश सिटौलाले चलचित्र पत्रकारितामा पु¥याउनुभएको योगदान अतुलनीय रहेको र उनको नेतृत्व, स्पष्ट दृष्टिकोण तथा समर्पणले संघलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। साथै, स्व. सुनिल थापाले नेपाली चलचित्र क्षेत्रमा पु¥याउनुभएको योगदान, अभिनय यात्रा र कलाप्रतिको समर्पण सधैं स्मरणीय रहने धारणा व्यक्त गरे।
संघका अध्यक्ष सन्तोष बस्यालले नेपाली चलचित्र क्षेत्रले एकै महिनाभित्र दुई महत्वपूर्ण व्यक्तित्व गुमाउनुपर्दा अपूरणीय क्षति भएको भएको उल्लेख गरे । उनीहरूको योगदान सदैव सम्मान र स्मरण गरिने भनाई उनको छ । उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।
कार्यक्रममा उपस्थित सबैले दीप प्रज्वलन गर्दै मौनधारणमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरे। यस कार्यक्रममार्फत नेपाली चलचित्र क्षेत्रप्रति दिवंगत व्यक्तित्वहरूले पु¥याएको अमूल्य योगदान पुनः स्मरण गरिएको छ।





