पोखरा । २० औँ संस्करणको पोखरा म्याराथनको उपाधी केन्याली धावक जुलियस मुरीउकी वाहोमले जितेका छन् । शनिबार पोखरा रंगशालाबाट सुरू भएको म्याराथन प्रतियोगितामा वाहोमले निर्धारित ४२.१९५ किलोमिटर दुरी दुई घण्टा २३ मिनेट ३९ सेकेण्डमा पुरा गरेर उपाधी जितेका हुन् ।
भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगिताको दोस्रो स्थानमा नेपाल आर्मीका धावक गजेन्द्र राई बने । दोस्रो स्थानमा आएका गजेन्द्रले उक्त दुरी दूई घण्टा २४ मिनेट ४७ सेकेण्डमा पुरा गरे । तेस्रो स्थानमा नेपाल कै हरि कुमार रिमाल आएका छन्। उनले सोही दुरी दुई घण्टा २७ मिनेट १८ सेकेण्डमा पुरा गरे ।

प्रतियोगितामा पुरुषतर्फ विजेता वाहोमले पुरस्कार स्वरुप नगद चार लाख, दोस्रो हुने गजेन्द्रले २ लाख र तेस्रो स्थान हासिल गरेका हरिकुमारले १ लाख पुरस्कार पाएका छन । यस्तै, हाफ म्याराथनमा पुरुष तर्फ नेपाल आर्मीका संजाय श्रेष्ठले जिते । उनले एक घण्टा ८ मिनेट ४५ सेकेण्डमा दौड पुरा गरे । त्यसैगरी ११ सेकेण्डले पछि पार्दै नगेन्द्र सिंह राउत दोस्रो हुन सफल भए ।
उनले सोहि दुरी पार गर्न एक घण्टा ८ मिनेट ५६ सेकेण्डमा पुरा गरे । तेस्रो भएका गौतम श्रेष्ठले सोहि दुरी पार गर्न एक घण्टा ११ मिनेट २७ सेकेण्ड लगाए । महिलातर्फ हाफ म्याराथनको उपाधी नेपालकी सन्तोषी श्रेष्ठले जितेकी छिन । उनि यस अघिको संस्करणको विजता समेत हुन् । उनले गत वर्ष भन्दा २४ सेकेण्ड छिटो दुरी पार गरेकी छिन ।
गत वर्ष एक घण्टा २० मिनेट ३० सेकेण्डमा दुरी पार गरेकी सन्तोषीले यस पटक एक घण्टा २० मिनेट ६ सेकेण्डमा सोहि दुरी पार गरिन । दास्रो भएकी निशा सार्कीले सोहि दुरी पार गर्न एक घण्टा २१ मिनेट २५ सेकेण्ड लगाइन । तेस्रो भएकी राज्यलक्ष्मी रावलले एक घण्टा २६ मिनेट १० सेकेण्डमा पुरा गरिन् । म्याराथनमा नेपाल सहित अमेरिका, बेलायत, न्यूजिल्याण्ड, केन्या, नाइजेरिया, बेल्जियम लगायत देशका धावकहरुको सहभागिता थियो ।





