पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मा प्रस्याङमा रहेको सन्तानेश्वर महादेव मन्दिरको पुनर्निमाणका लागि शिलान्यास भएको छ ।
शिवरात्रीको अवसर पारेर मन्दिर पुनर्निर्माणको शिलान्यास पोखरा–५ का वडा अध्यक्ष विष्णु प्रसाद बराल गरे । वडा अध्यक्ष बरालले प्रस्याङ पार्कलाई व्यवस्तिथ गर्न गुरु योजना तयार गरिएको बताए । उनले यस पार्कमा रहेको सन्तानेश्वर महादेव मन्दिरलाई पोखरा ५ को प्रमुख धार्मिक स्थल बनाउने बताए ।
मन्दिरको पुननिर्माण महानगरको योजना र स्थानीयको सहयोगमा गर्ने योजना छ । मन्दिर पुननिर्माण कार्यका लागि १ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रचार प्रसार संयोजक लक्ष्मण बरालले बताए । शिलान्यासकै दिन पार्क व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुलीको परिवारबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । स्थानीय समुदायको सक्रिय सहभागिता तथा सहयोगबाट मन्दिर पुननिर्माण कार्यलाई समयमै सम्पन्न गर्ने लक्ष्य समितिको छ ।

यस वर्ष सन्तानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि महोत्सव समेत सञ्चालन भएको छ । पस्र्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजना र शिवालय भजन समूहको समन्वयमा सामूहिक व्रतवन्त्र, साँझ आरती, भजन लगाएतका कार्यक्रमहरु गरेको संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वसर मन्दिरमा बर्सेनि शिवरात्रीका अवसरमा स्वतस्फूर्तरुपमा कार्यक्रम हुने भए पनि यसपटक व्यवस्थित ढंगले विशेष कार्यक्रम गरेर मनाएको उनको भनाई छ । पछिल्लो पटक पर्यटनसँग समेत जोडिएको पार्कमा विशेष पौराणिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर परिसरमा कार्यक्रम गरेको बताए । यो मन्दिर करिब १ सय २५ वर्ष पुरानो रहेको स्थानीयको भनाई छ ।
प्रस्र्याङमा हुने शिवरात्री विशेष कार्यक्रमलाई फिस्टेल आइभिएस एन्ड फर्टिलिटी सेन्टरले साथ दिएको छ । शिवरात्री विशेष कार्यक्रममा १०८ शिवलिंगमा दूध, जल तथा बेलपत्र अर्पण, सामूहिक चुडाकर्म, निःशुल्क रक्त परीक्षण, विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी आकर्षणका भएका छन् ।





