पोखरा । पोखरामा शुक्रबार भएको ‘महिला स्वास्थ्य स्वयंम सेविका बिचको जनचेतनामुलक लोकगीत प्रतियोगिता’ मा भरतपोखरी भरतपोखरी स्वास्थ्य चौकी प्रथम भएको छ ।
अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले आयोजना गरेको प्रतियोगितामा भरतपोखरी प्रथम भएको हो । प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा भएको प्रतियोगितामा प्रथम हुदैं भरतपोखरी स्वास्थ्य चौकीले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।
प्रतियोगितामा माझठाना कालिका मिलिजुली समूह दोस्रो, अन्नपूर्ण समूह तेस्रो र नौलो समूह राखी स्वास्थ्य चौकी सान्त्वना भयो । उनीहरुले क्रमश ११ हजार, ८ हजार र ६ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।
विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका अतिरिक्त सचिव खिमबहादुर खड्काले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा उनले कण्डम अस्थायी साधन मात्र नभएर यौनरोग निरोधक साधन भएकाले यसको प्रचारप्रसारमा सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो । गीतका माध्यमबाट सचेतना फैलाउन सहज हुने धारणा राखेका थिए ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन एड्स हेल्थकेयर फाउण्डेसन, नेपालका कार्यक्रम तथा बजार संयोजक राधेश्याम श्रेष्ठ, एएचएफ नेपालका गण्डकी संयोजक विद्या कोइरालाले गरेकी थिइन्।

अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा एएचएफ, नेपाल कै आयोजनामा बिहीबार पोखराका पत्रकारहरुसँग अन्तरक्रिया पनि गरिएको थियो । दिवस अन्तर्गतका कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदशका क्षयरोग÷एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एएचएफ नेपालले प्रणय दिवसको अवसर पारेर सन् २०११ देखि युवाहरुलाई लक्षित गरि नेपालमा पनि विविध कार्यक्रम गरि अन्तरराष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष मनाउदै आएको बताएका थिए ।
संयोजक बसौलाले गण्डकी प्रदेशमा यो आर्थिक वर्षको पुस मसान्तसम्म ९ लाख ५३ हजार कण्डम बाडिएको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा २२ लाख ६४ हजार र त्यस अघिको आर्थिक वर्षमा २३ लाख ९७ हजार कण्डम वितरण गरिएको थियो ।
एएचएफ नेपाल, गण्डकीकी कार्यक्रम संयोजक विद्या कोइरालाले शुक्रबार पोखरा सभागृहमा भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको जानकारी दिइन् ।






