newa srijana

अन्नपूर्ण गाउँपालिकामा बाढीले बगाएको बाटो एक महिना पछि फर्कियो यात्रा

घान्द्रुक–एबीसी जाने सडक खुलेसँगै स्थानीयमा खुसी, पर्यटन व्यवसायीमा फर्कियो आशा

पोखरा ।  एक महिना अघि अन्नपूर्ण गाउँपालिका–८ विरेठाँटीमा मोदीखोलाको बाढीले सडक बगाएपछि रोकिएको घान्द्रुक–एबीसीको यात्रा फेरि सुरु भएको छ बाढीले बगाएको नयाँपुल–विरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माणपछि खुलेसँगै स्थानीयको दैनिकी र पर्यटन व्यवसायमा पनि चहलपहल फर्किएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ विरेठाँटीमा सडकको मुख्य संरचना नै बाढीले बगाएपछि साउन २९ गतेदेखि यो सडक पूर्ण रूपमा ठप्प भएको थियो । अन्नपूर्ण गाउँपालिका– ८, ९, १० र ११ का बासिन्दाको आवागमन प्रभावित हुनुका साथै घान्द्रुक, अन्नपूर्ण आधार शिविर (एबीसी) लगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकसमेत प्रभावित भएका थिए ।

गत साउन २२ गते मोदीखोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका– ८ र १० को सीमास्थित स्याउलीबजार आसपास तथा विरेठाँटी क्षेत्रमा सडकमा ठूलो क्षति पुर्‍याएको थियो । साउन २८ गते साँझ आएको अर्को बाढीले सडकको बाँकी संरचना समेत बगाएपछि यातायात पूर्ण रूपमा बन्द भएको थियो ।

तर सडक बन्द भएर यात्रा रोकिए पनि पुनर्निर्माणको काम रोकिएन गाउँपालिका, गण्डकी प्रदेश सरकार, नेपाली सेना, जलविद्युत् आयोजना, राजनीतिक दल, विभिन्न संघसंस्था र स्थानीयवासी एक ठाउँमा उभिए कसैले पैसा जुटाए, कसैले मेसिन दिए, कसैले निर्माण सामग्री र कसैले श्रमदान गरे ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार सबै पक्षको सहयोग र समन्वयबाट करिब एक महिनामै सडक पुनर्निर्माण सम्भव भएको हो । पुनर्निर्माणका लागि विभिन्न दाता तथा संघसंस्थाबाट करिब ८० लाख रुपैयाँ सहयोग जुटेको छ । समग्रमा एक करोड रुपैयाँभन्दा बढीको पुनर्निर्माण कार्य सम्पन्न भएको उनले बताए ।

 

पुनर्निर्माणका क्रममा भदौ २ देखि ९ गतेसम्म मोदीखोलाको बहाव डाइभर्सन गरी सडक निर्माणको आधार तयार पारिएको थियो भदौ १० गतेदेखि ग्याबिन जाली भर्ने, ब्याकफिलिङ गर्ने तथा सडकको संरचना उठाउने काम अघि बढाइएको थियो ।

करिब दुई हजार घनमिटर ग्याबिन भर्नुपर्ने अवस्थामा नेपाली सेनाका ४५ जनाले भदौ १० देखि असोज २ गतेसम्म श्रमदान गरेका थिए । जलविद्युत् आयोजनाहरूले जेसीबी, डोजर, टिपर लगायतका मेसिन उपलब्ध गराए भने] मेसिन सञ्चालनका लागि आवश्यक डिजेल तथा व्यवस्थापन गाउँपालिकाले गरेको थियो ।

गण्डकी प्रदेश सरकारले ग्याबिन तारजाली उपलब्ध गराएको थियो भने अन्नपूर्ण–७ बाट ढुंगा तथा ग्राभेल व्यवस्थापन गरिएको थियो । राजनीतिक दल, आमा समूह, चेलीबेटी समूह, भाइखलक, सामाजिक संस्था तथा देश–विदेशमा रहेका नेपालीले समेत आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

सिटीजन फनिच्रर

यो सडक स्थानीयका लागि मात्रै होइन, घान्द्रुक र एबीसीको पर्यटनसँग जोडिएको महत्वपूर्ण मार्ग हो, अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले भने, ‘सडक अवरुद्ध भएपछि स्थानीयको दैनिकी र पर्यटन व्यवसायमा ठूलो असर परेको थियो । सबै पक्षलाई साथमा लिएर तत्काल सडक सञ्चालन गर्ने गरी काम अघि बढायौं । उनका अनुसार सडक खुलेसँगै स्थानीयमा राहत पुगेको छ भने पर्यटन व्यवसायीमा पनि फेरि आशा जागेको छ ।

‘बाढीले सडक मात्रै बगाएको थिएन, हाम्रो दैनिक जीवन नै रोकिएको थियो,  अन्नपूर्ण गाउँपालिका–९ का अध्यक्ष रमेश गुरुङले भने, ‘पुनर्निर्माणमा स्थानीयको पनि उल्लेख्य सहभागिता रह्यो । अहिले सडक खुलेपछि आवागमन सहज भएको छ बस्ती र व्यवसाय दुवैमा राहत पुगेको छ ।

एक महिनासम्म सडक बन्द हुँदा घान्द्रुक र आसपासका होटल, रेस्टुरेन्ट, होमस्टे, यातायात तथा अन्य पर्यटन व्यवसाय प्रभावित भएका थिए  भने पर्यटकको आवागमन रोकिँदा व्यवसाय सुनसान बनेको थियो ।

सडक खुलेपछि व्यवसायीमा उत्साह फर्किएको छ स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार सडक बन्द हुँदा पर्यटकको आवागमनसँगै सामान ढुवानी समेत प्रभावित भएको थियो । सडक खुलेपछि फेरि पर्यटक आउने र व्यवसाय चलायमान हुने आशा पलाएको उनीहरू बताउँछन् ।

सडक पुनर्निर्माणको प्राविधिक व्यवस्थापनका लागि इन्जिनियर शैलेन्द्र क्षेत्रीको नेतृत्वमा दीपक लामिछाने, विमल भण्डारी र चक्र धिताल सहितको टोली निरन्तर खटिएको थियो । सडक सञ्चालनमा आएसँगै घान्द्रुक, एबीसी तथा आसपासका पर्यटकीय क्षेत्रमा आवागमन सहज भएको छ ।

एक महिनाअघि बाढीले बगाएको बाटोमा अहिले फेरि गाडी गुडिरहेका छन्  साथै सडकसँगै स्थानीयको दैनिकी, व्यवसायीको आशा र पर्यटकीय यात्राले पनि पुनः गति लिन थालेको छ ।

 

Rabin photo