पोखरा। उज्वेकिस्तानको आभा एफसीले प्लानिङ ब्वाइज युनाइटेडलाई हराउँदै २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० मा पराजित गर्दै उज्वेकिस्तानको आभा एफसीले सेमिफाइनलमा प्रवेश गरेको हो । आभाको जितमा युमिदजोन करिलोभले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि दोस्रो हाफको ५६औं मिनेटमा युमिदजोन करिलोभले उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाए ।
आभा एफसीले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा जावलाखेल युथ क्लबसँग प्रतिष्पर्धा गर्नेछ । सेमिफाइनलको अर्को खेलमा आयोजक सहारा क्लब पोखरा र मनाङ मर्स्याङ्दी खेल्ने छन्।
सहारा क्लबको आयोजनामा भइरहेको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् । गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् । फाइनल खेल फागुन ९ गते हुनेछ ।






