पोखरा । कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले जनताको विश्वास जित्ने लक्ष्यका आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।
निर्वाचन प्रचारअन्तर्गत सोमबार पोखरा ५ का मतदाता भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्।साथै उनले मतदाताको समर्थनसहित विजयी बन्ने आकांक्षा व्यक्त गर्दै समुन्नत र सुशासनयुक्त नेपाल निर्माणमा आफू र कांग्रेस पार्टी लाग्ने स्पष्ट पारे।उनले मतदाताको आवाज सुन्ने, साथ दिने प्रतिबद्धता व्यक्त गर्ने र समस्या समाधानका लागि व्यवहारिक सुझाव संकलन पनि गरिरहेका छन् ।
गुरुङले राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै समाजसँग जोडिएर काम गर्ने स्पष्ट पारे।उनले कास्की(३ को समग्र विकासलाई केन्द्रीय एजेण्डा बनाउने संकल्प पनि गरे।पूर्वाधार विकासमा सडक सञ्जाल विस्तार, खानेपानी तथा सिँचाइ व्यवस्थामा सुधार गर्ने उनको प्रतिबद्धता छ ।
यस्तै शिक्षा र स्वास्थ्यमा विद्यालय र स्वास्थ्य संस्थाको गुणस्तर अभिवृद्धि गर्नुका साथै रोजगारी सिर्जनामा स्थानीय उत्पादन र साना उद्योग प्रवर्द्धनमार्फत रोजगार अवसर विस्तार गर्ने गुरुङको लक्ष्य छ। सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र प्रविधिसँग युवालाई जोड्न पहल गर्ने उनको अठोट छ।

समानुपातिकतर्फका उम्मेद्वार आइबहादुर गुरुङले वर्तमान कांग्रेसलाई समयअनुसार थप जनमुखी बनाउँदै युवाको सहभागिता बढाउने, स्थानीय तहसँग समन्वय सुदृढ गर्ने र नीतिगत स्पष्टता ल्याउने आवश्यकता रहेको बताए ।
उनले आसन्न निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिइएको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवा सुधारलाई प्राथमिक एजेन्डा बनाएको स्पष्ट पारे।
कांग्रेस नेता रामजीप्रसाद कोइरालाले पार्टीभित्रको आन्तरिक एकता बलियो बनाउँदै तल्लो तहसम्म संगठन विस्तार गर्न सके मात्र आगामी निर्वाचनमा जनविश्वास जित्न सकिने बताए । नेता पुरुषोत्तम प्रसाद पराजुलीले कांग्रेसको ऐतिहासिक योगदान स्मरण गराउँदै लोकतन्त्र, मानवअधिकार र समावेशिताका पक्षमा पार्टी सधैँ अग्रपंक्तिमा उभिएको दाबी गरे ।
उनले जनताका दैनन्दिन समस्यामा केन्द्रित कार्यक्रम ल्याएर विश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।पराजुलीले जिम्मेवार राजनीति, पारदर्शिता र जवाफदेहितामार्फत कांग्रेसलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।






