newa srijana

मतदानका लागि आवश्यक सामग्री बोकेर कास्कीका मतदानस्थलतर्फ

पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सामग्री कास्कीका सबै मतदानस्थलमा पुर्‍याइसकिएको छ । दुर्गम क्षेत्रमा आइतबार नै सामग्री पठाइएको थियो भने नजिकका मतदानस्थलमा सोमबार पठाइएको हो ।

प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार बिहान गाउँपालिका र दिउँसो पोखरा महानगरपालिकाभित्रका मतदान केन्द्रका लागि ५२ प्रकारका सामग्री वितरण गरिएको उनले बताए ।

वितरित सामग्रीमा मतपेटिका, नउड्ने मसीको मार्कर पेन, पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड, कागज, डटपेन, धागो, सियो, स्टेपलर, लाहा, मैनबत्ती, कार्बन पेपर, कैँचीलगायत सामग्री समावेश छन् । निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कपडाको थैलो र मतदान कक्षको छेकवारा पनि पठाइएको छ ।

सिटीजन फनिच्रर

कास्कीमा १ सय ५५ मतदानस्थल र ३ सय ६५ मतदान केन्द्र छन् । ३ लाख ८ हजार ५ सय ७२ मतदातामध्ये १ लाख ४८ हजार ४ सय १५ पुरुष, १ लाख ६० हजार १ सय ५३ महिला र ४ जना अन्य छन् । प्रत्येक केन्द्रमा स्वयंसेवकसहित ११ जना गरी जिल्लाभर २ हजार १ सय ८४ कर्मचारी खटिएका छन् ।

जिल्लाका तीन निर्वाचन क्षेत्रमा ६ स्वतन्त्रसहित ४९ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणना क्षेत्र नम्बर १ का लागि पोखरा महानगरपालिका–१५ को वडा कार्यालय, क्षेत्र नम्बर २ का लागि मालेपाटनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर ३ का लागि पोखरा सभागृहमा हुने निर्धारण गरिएको छ ।

सामग्री बुझेका कर्मचारी र सुरक्षाकर्मी सोमबार नै मतदानस्थलमा पुगेर सूचना टाँस गर्नेछन् । फागुन २१ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।

अनिल multipurpose