पोखरा । जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको भवन, हातहतियार, कागजात र सवारीसाधन जोगाउने प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतलाई पुरस्कार सिफारिस गरिएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वको जेन–जी घटना जाँचबुझ आयोगले यो सिफारिस गरेको हो । आन्दोलनका क्रममा डीएसपी बस्नेतको टोलीले संयमपूर्वक काम गर्यो र सुरक्षाकर्मी तथा प्रदर्शनकारी दुवैतर्फ कुनै मानवीय क्षति भएन । आयोगले उनको नेतृत्व र व्यावसायिकतालाई प्रशंसा गरेको छ ।

२०८२ वैशाखमा कास्की सरुवा भएका बस्नेत यसअघि पनि प्रहरी महानिरीक्षकबाट पुरस्कृत भइसकेका छन् । आयोगले उनीसहित अन्य छ जना डीएसपीलाई पनि सिफारिस गरेको छ । कालिमाटीका मधु थापा, मालिगाउँका सुनील शाह, महाराजगन्जका चिनिमाया तामाङ, जनसेवाका कृष्णकुमार चन्द र ठिमीका नवराज ढुंगाना ।
भदौ २४ गतेको प्रदर्शनमा सहयोग पुर्याएका दुई व्यवसायी शिवराज बाँडा र गीताकुमारी साह पनि सिफारिसमा परेका छन् ।




