पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका लोकदोहोरी प्रतिभाबीच ‘दोस्रो गण्डकी लोकतारा–२०८३’ को ग्राण्ड फिनाले जेठ ९ गते पोखरामा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जनाएको हो।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने फिनालेमा गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका ११ जना प्रतिस्पर्धी सहभागी हुनेछन् । प्रतियोगितामा कास्कीका समिर पुन, पर्वतका शोभा परियार, बागलुङकी ललिता घर्ती मगर, स्याङ्जाका शक्ति छिनाल, तनहुँकी मन्दिरा थापा मगर, गोरखाका निर्मल गुरुङ, लमजुङका योगेश परियार, स्याङ्जाकी बत्ती कुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङकी सविता छिनाल र मनाङकी ममता तामाङ प्रतिस्पर्धामा उत्रिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका गण्डकी अध्यक्ष माया गुरुङका अनुसार लोकसंस्कृति, मौलिक भाका र नयाँ प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले लोकतारा आयोजना गरिएको हो । गण्डकी प्रदेश सोरठी, झ्याउरे, कौडा, भजन र पञ्चेबाजाजस्ता मौलिक लोकसंस्कृतिले समृद्ध क्षेत्र भएकाले यस्ता कार्यक्रमले लोकभाकाको जगेर्नामा टेवा पुग्ने उनले बताइन् ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै वरिष्ठ सर्जक रमेश बिजी को लय तथा शब्दमा अडियो गीत निःशुल्क रेकर्ड गर्ने अवसर पनि पाउने आयोजकले जनाएको छ । दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले बताइन् ।




