newa srijana

पोखरा बसपार्क खाली गराउन महानगर सक्रिय, सुकुमवासीलाई तीन दिनभित्र विवरण बुझाउन आग्रह

पोखरा । पाँच दशकदेखि अलपत्र रहेको प्रस्तावित पोखरा बसपार्क निर्माण अघि बढाउन पोखरा महानगरपालिकाले अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया तीव्र बनाएको छ । महानगरले बुधबार सूचना जारी गर्दै भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई तीन दिनभित्र विवरण बुझाउन आग्रह गरेको हो ।

महानगरका अनुसार यसअघि निस्सा प्राप्त गरेका व्यक्तिले जेठ ८ गतेभित्र वडा नम्बर ९ को कार्यालयमा आवश्यक कागजातसहित विवरण बुझाउनुपर्नेछ । स्थानीयले महानगरबाट प्राप्त निस्सा, नागरिकता वा जन्मदर्ता तथा नाता प्रमाणित कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

World link net

पोखरामा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि २०३१–३२ सालमा पृथ्वीचोकस्थित २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर लामो समयसम्म बसपार्क निर्माण हुन नसक्दा उक्त क्षेत्रमा साढे चार सयभन्दा बढी घरटहरा बनेका छन् । अतिक्रमणका कारण २०५ रोपनी जग्गा खुम्चिएर अहिले करिब २६ रोपनीमा सीमित भएको महानगरको भनाइ छ ।

महानगरले गत वैशाख ४ गते अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाको म्याद जेठ ८ गते सकिन लागेका बेला वास्तविक सुकुमवासी पहिचानका लागि नयाँ सूचना जारी गरिएको हो ।

विवरण सङ्कलनपछि सर्वपक्षीय सहमतिमा जग्गा खाली गराएर बसपार्क निर्माण प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ । पोखरा बसपार्क क्षेत्रमा हाल ४ सय ७५ घरधुरी बसोबास गर्दै आएका छन् ।

सिटीजन फनिच्रर