पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को वायुसेवा कम्पनी फ्लाई दुबईका जोखिम व्यवस्थापनसम्बन्धी उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण तथा उच्चस्तरीय छलफल गरेको छ ।
लुकास नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलासहित विमानस्थलको प्राविधिक टोलीसँग करिब ६ घण्टा लामो छलफल तथा स्थलगत निरीक्षण गरेको हो । सो क्रममा विमानस्थलको धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार तथा उडान सञ्चालनका विभिन्न पक्षबारे सूक्ष्म अध्ययन गरिएको टोलीले जनाएको छ ।
निरीक्षणपछि टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पनि भेटवार्ता गरेको थियो । सो अवसरमा उपाध्यक्ष लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक तथा सुरक्षा दृष्टिले पूर्ण रूपमा सुरक्षित र सक्षम रहेको प्रतिक्रिया दिनुभयो । विमानस्थलको पूर्वाधार र तयारीबाट आफू प्रभावित भएको उल्लेख गर्दै उहाँले फ्लाई दुबई पोखरा–दुबई दैनिक सिधा उडान सञ्चालन गर्न इच्छुक रहेको बताउनुभयो ।
“हामीले विमानस्थलको प्राविधिक तथा सुरक्षा पक्षको ६ घण्टा लामो विस्तृत निरीक्षण गर्यौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि पूर्ण रूपमा सुरक्षित र तयार छ । हामी पोखरा र दुबईबीच दैनिक उडान सञ्चालन गर्न इच्छुक छौं,” लुकासले भन्नुभयो ।
उहाँले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गर्न तथा उडान मार्ग सहज बनाउन प्रमुख आचार्यले निर्वाह गरेको समन्वयकारी भूमिका र निरन्तर पहलको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

फ्लाई दुबई विश्वप्रसिद्ध वायुसेवा कम्पनी इमिरेट्सको भगिनी (सिस्टर) एयरलाइन्स हो । फ्लाई दुबईले पोखराबाट उडान सुरु गरेसँगै पोखरा इमिरेट्सको विश्वव्यापी सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिने अपेक्षा गरिएको छ । यसबाट पोखराको पहुँच विश्वका ३०० भन्दा बढी प्रमुख सहरसम्म विस्तार हुने विश्वास गरिएको छ । फलस्वरूप युरोप, अमेरिका र अफ्रिकाका पर्यटकले दुबई हुँदै सहज रूपमा पोखरा भ्रमण गर्न सक्नेछन् ।
उक्त उडानलाई मूर्त रूप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, फ्लाई दुबईका उच्च अधिकारी, कम्पनीका नेपाली प्रतिनिधि तथा पोखरा महानगरपालिकाका प्रमुख आचार्यको उपस्थितिमा पटक–पटक उच्चस्तरीय बैठक सम्पन्न भइसकेका छन् ।
लामो समयदेखिको निरन्तर प्रयास, ६ घण्टा लामो प्राविधिक निरीक्षण तथा सरोकारवालाबीचको गहन छलफलपछि नियमित उडानको मिति सार्वजनिक गर्ने चरणमा पुगेको प्रमुख आचार्यले जानकारी दिनुभयो ।
प्रमुख आचार्यले फ्लाई दुबईको चासो तथा हालसम्म भएका प्रगतिले पोखरेली जनता र पर्यटन व्यवसायीमा नयाँ उत्साह थपेको बताउनुभयो । पोखरालाई विश्व बजारसँग प्रत्यक्ष जोड्न फ्लाई दुबईको दैनिक उडान कोशेढुंगा सावित हुने उहाँको भनाइ थियो ।
यो उडान सञ्चालनमा आए गण्डकी प्रदेशका नागरिकलाई वैदेशिक रोजगारी, व्यवसाय तथा भ्रमणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । साथै मध्यपूर्व तथा विश्वका विभिन्न मुलुकबाट पर्यटक सिधै पोखरा भित्रिने मार्ग खुल्ने विश्वास समेत गरिएको छ ।




