newa srijana

लेखनाथ खानेपानीको क्षेत्रीय उपभोक्ता सभा जारी

पोखरा । ‘घर–घरमा पानी सभ्यताको निशानी, आफ्नो घर आँगन टोल आफैं सफा राखौं’ भन्ने मूल नारासहित स्थापना भएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको २१औँ वार्षिक क्षेत्रीय साधारणसभा तथा छैटौँ अधिवेशन सुरु भएको छ ।

साबिक लेखनाथ नगरपालिकाका वडालाई उपभोक्ताको आधारमा १० वटा क्षेत्र निर्धारण गरी कुल १७ हजार ८०२ धाराबाट खानेपानीको व्यवस्था मिलाउँदै आएको संस्थाले यही जेठ १५ गतेदेखि २३ गतेसम्म क्षेत्रगत सभा गर्ने कार्यतालिका तय गरेको छ ।

यसैक्रममा संस्थाले सोमबारसम्म ६ वटा क्षेत्रको क्षेत्रगत सभा सम्पन्न गरिसकेको छ भने बाँकी रहेका ४ वटा क्षेत्रको सभा क्रमशः गर्दै जाने र अन्त्यमा मूल समितिको अधिवेशनसहित निर्वाचन गर्ने योजना रहेको छ ।

World link net

हालसम्म सम्पन्न क्षेत्र नं. १ (साबिक वडा नं. १) मा कमल गुरुङको संयोजकत्वमा १५ सदस्यीय समिति चयन भएको छ भने क्षेत्र नं. २ (साबिक वडा नं. २) मा गंगा तामाङ संयोजक रहेको १३ सदस्यीय समिति तथा क्षेत्र नं. ३ (साबिक वडा नं. ३) मा बलबहादुर गुरुङ संयोजक रहेको १३ सदस्यीय क्षेत्रीय समिति चयन गरिएको छ ।

यसैबीच क्षेत्र नं. ४ (साबिक लेखनाथ वडा नं. ६) मा नयाँ समिति चयनका लागि भएको प्रयासमा राजनीतिक भागबण्डाकै आधारमा कुरा नमिल्दा सभा स्थगित भएको छ भने क्षेत्र नं. ५ र ६ मा मंगलबार भएको साधारणसभाले समिति चयन गर्न नसकेपछि सहमतिका आधारमा नयाँ समिति बनाउने प्रयास भइरहेको छ ।

यसअघि भएका विभिन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ तथा वडा नं. ३० का वडाध्यक्ष दुर्गा सुवेदीले लेखनाथवासीलाई खानेपानीको व्यवस्था मिलाउन उपभोक्ता संस्था र तीनै तहका सरकारबीच सहकार्यको खाँचो औंल्याएका थिए ।

सोही अवसरमा संस्थाका अध्यक्ष मुरारी शर्मा, निवर्तमान अध्यक्ष विष्णुप्रसाद बराल, पूर्वअध्यक्ष बोधराज लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र वास्तोला, निर्वाचन संयोजक नवराज सापकोटालगायत वक्ताहरूले खानेपानी सञ्चालनमा ल्याउँदादेखिको इतिहास स्मरण गर्दै आगामी दिनमा खानेपानीका मुहानहरूको संरक्षण, वैकल्पिक योजनाको खोजी तथा दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

सिटीजन फनिच्रर