newa srijana

पोखरा बसपार्क क्षेत्रका सुकुमबासी व्यवस्थापनका लागि छ स्थान प्रस्ताव

पोखरा। पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका सुकुमबासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि छ वटा स्थान प्रस्ताव गरेको छ।

यसका लागि गठित जग्गा खोजी समितिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रतिवेदन बुझाउँदै विभिन्न वडामा रहेका सार्वजनिक तथा सरकारी स्वामित्वका जग्गा व्यवस्थापनका लागि उपयुक्त हुन सक्ने सुझाव दिएको हो।

समितिले वडा नं. ११ को रामघाटस्थित पुन समाजले चर्चेको करिब ४६ रोपनी पर्ती जग्गालाई प्राथमिक विकल्पका रूपमा सिफारिस गरेको छ। सेती नदीको ३० मिटर मापदण्ड क्षेत्रभन्दा बाहिर रहेको उक्त जग्गामा सडक, खानेपानी र विद्युत् जस्ता आधारभूत पूर्वाधार उपलब्ध रहेकाले सुकुमबासी स्थानान्तरणका लागि उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी वडा नं. १४ स्थित बाच्छेबुडुवा खेलमैदान र भेडीफार्म क्षेत्रको करिब २४८ रोपनी जग्गा पनि व्यवस्थापनका लागि उपयुक्त देखिएको छ। पर्याप्त क्षेत्रफल रहेको उक्त स्थानमा बसपार्क क्षेत्रसँगै फिर्के करिडोर आसपासका परिवारलाई समेत व्यवस्थापन गर्न सकिने समितिको निष्कर्ष छ।

वडा नं. १५ को मजुवास्थित करिब ९९ रोपनी जग्गालाई पनि सम्भावित विकल्पका रूपमा अघि सारिएको छ। उक्त क्षेत्रको केही भाग प्रदेश प्रहरीको स्वामित्वमा रहेकाले बाँकी जग्गाको पुनःरेखाङ्कन आवश्यक रहेको समितिले जनाएको छ।

World link net

वडा नं. १७ को प्रगति टोलस्थित करिब २३ रोपनी जग्गामा हाल केही परिवार बसोबास गरिरहेका छन्। बाँकी खाली क्षेत्रलाई थप व्यवस्थापनका लागि उपयोग गर्न सकिने सुझाव प्रतिवेदनमा दिइएको छ।

वडा नं. २१ को दोबिल्लामा करिब ४३० रोपनी तथा वडा नं. २५ को हेमजामा करिब ८९३ रोपनी जग्गा उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख छ। दोबिल्लाको केही भाग विभिन्न मापदण्डभित्र परे पनि अधिकांश क्षेत्र व्यवस्थापनका लागि उपयुक्त रहेको जनाइएको छ। हेमजाको जग्गा बगर क्षेत्र भए पनि हाल खेतीयोग्य रूपमा प्रयोग हुँदै आएको छ।

महानगरपालिकाले वर्षौंदेखि सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गर्दै आएका सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन व्यवस्थापनका लागि वैकल्पिक स्थानको खोजी थालेको हो। सोही उद्देश्यका साथ १० दिनअघि वडा नं. १७ का अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो।

महानगरपालिकाले प्रारम्भिक चरणमा बसपार्क र फिर्के करिडोर क्षेत्रका करिब ६ सय परिवारलाई व्यवस्थापन गर्ने लक्ष्य राख्दै आवश्यक जग्गाको पहिचान गरी प्रतिवेदन तयार पारेको जनाएको छ।

समितिमा वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, वडा नं. १४ का अध्यक्ष बोधराज कार्की, वडा नं. २५ का कार्यवाहक अध्यक्ष धना पोख्रेल, नापी शाखा पोखराका प्रमुख सीता कार्की तथा प्रशासन महाशाखाका अधिकृत टीकाराम बजगाईं सदस्य रहेका थिए।

सिटीजन फनिच्रर