पोखरा । पोखरा महानगरपालिका–२६ माझको डाँडा क्षेत्रमा एक घरमा चोरीको प्रयास गर्दै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार स्थानीय धनबहादुर खड्काको घरमा कोही नभएको मौका पारेर मुख्य ढोका, कोठाको ताल्चा तथा दराज तोडफोड गरी धनमाल चोरी गर्ने प्रयास भइरहेको अवस्थामा स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलबाट भाग्ने क्रममा रहेका एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–११ निवासी ३६ वर्षीय राजन तामाङ रहेका छन्। प्रहरीले उनको साथबाट ताल्चा तोडफोड गर्न प्रयोग गरिएको फलामको औजारसमेत बरामद गरेको छ।
घटनामा संलग्न तामाङविरुद्ध चोरी तथा डाँका उद्योगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।




