पोखरा । कास्की जिल्लाका बजार निरीक्षक तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा पोखराका विभिन्न व्यावसायिक प्रतिष्ठानमा बजार अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, पोखरा महानगरपालिका, सुरक्षा निकाय, राष्ट्रिय उपभोक्ता मञ्च तथा सञ्चारकर्मी सम्मिलित संयुक्त टोलीले राजमार्ग, मुख्य तथा सहायक सडक आसपास सञ्चालित होटल, रेष्टुरेन्ट, खाजा घर, फलफूल तथा जुस सेन्टर र चमेना गृहको अनुगमन गरेको हो।

अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएका व्यवसायीलाई अनिवार्य रूपमा मूल्यसूची राख्न, म्याद नाघेका तथा उत्पादक, उत्पादन मिति र प्रयोगयोग्य मिति उल्लेख नभएका वस्तुको बिक्री–वितरण नगर्न निर्देशन दिइएको छ।
त्यसैगरी पसल तथा व्यवसायिक प्रतिष्ठानको नियमित सरसफाइ गर्न, खाद्य पदार्थमा रङ प्रयोग नगर्न, व्यवसाय दर्ता तथा नवीकरण गर्न, ढक्कनयुक्त फोहोर संकलन भाँडो प्रयोग गर्न तथा खाद्य र अखाद्य वस्तु छुट्टाछुट्टै राख्न समेत निर्देशन दिइएको छ।
अनुगमनका क्रममा कैफियत देखिएका व्यवसायीलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।




