newa srijana

पोखरा बसपार्क निर्माणको बाटो खुल्यो, सटर सात दिनभित्र हटाइने

पोखरा  । लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको सुविधा सम्पन्न पोखरा बसपार्क निर्माण कार्य अगाडि बढ्ने भएको छ। बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइन आसपासका जग्गाधनी र पोखरा महानगरपालिकाबीच सहमति भएपछि निर्माण कार्यको मार्ग प्रशस्त भएको हो।

पोखरा महानगरपालिकाका अनुसार उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध सम्मानित उच्च अदालतमा दायर गरेको रिट निवेदन सबै निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको छ। साथै, बसपार्क निर्माण कार्यलाई सहज बनाउन दुवै पक्षले आवश्यक सहयोग गर्ने तथा भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले निर्धारण गरेको मापदण्डअनुसार निर्माण गर्ने समझदारी समेत भएको जनाइएको छ।

World link net

सहमतिअनुसार हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू सात दिनभित्र पूर्ण रूपमा हटाइनेछ। यसले बसपार्क निर्माण कार्यलाई थप गति मिल्ने अपेक्षा गरिएको छ।

करिब पाँच दशकदेखि विभिन्न कारणले रोकिँदै आएको पोखरा बसपार्क निर्माण योजनालाई कार्यान्वयनको चरणमा पुर्‍याउन सहयोग गर्ने जग्गाधनी, स्थानीयवासी, सरोकारवाला निकाय तथा सम्बन्धित सबै पक्षप्रति पोखरा महानगरपालिकाले आभार व्यक्त गरेको छ।

महानगरपालिकाले सहमति कार्यान्वयनसँगै बसपार्क निर्माणलाई तीव्रता दिई पोखरावासीलाई आधुनिक र सुविधा सम्पन्न बसपार्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सिटीजन फनिच्रर