पोखरा । पर्वतमा एक महिलाको हत्या गरी गहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फलेवास नगरपालिका–५ निवासी २८ वर्षीय कुशल पुरीलाई कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा पक्राउ गरिएको हो।
फलेवास नगरपालिका–५ खानीगाउँमा बस्दै आएकी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे घर भएकी ५२ वर्षीया सन्तु नेपाली (सोमकुमारी नेपाली) जेठ ८ गते आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले पुरीलाई मोदी गाउँपालिका–५ पातीचौरस्थित होटल प्रिन्सबाट पक्राउ गरेको जनाएको छ।
अनुसन्धानबाट पुरीले कोदालो प्रहार गरी सन्तु नेपालीको हत्या गरेको तथा उनले लगाएका सुनका गरगहना लुटेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका पुरीको साथबाट मृतकले प्रयोग गर्ने सुनका आठ थान मुन्द्रा बरामद गरिएको छ।
लुटिएका गरगहना कुश्मा नगरपालिका–५ दर्शनटोलस्थित स्मृति गहना उद्योगका सञ्चालक रमेशकुमार श्रेष्ठलाई बिक्री गरेको खुलेपछि प्रहरीले गहना उद्योगमा तलासी गरेको थियो। तलासीका क्रममा मृतकले लगाउने एक थान सुनको सिक्री र दुई थान सुनका मुन्द्रा फेला परेपछि श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै जनाविरुद्ध जिल्ला अदालत पर्वतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




