newa srijana

छोरेपाटन माविमा खाना महोत्सव आयोजना

पोखरा । पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा बुधबार खाना महोत्सव आयोजना गरिएको छ। विद्यार्थीलाई कामको सम्मानबारे जानकारी गराउँदै उद्यमशीलताप्रति अभिप्रेरित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको विद्यालयले जनाएको छ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिका शिक्षा महाशाखा तथा विद्यालयको आयोजनामा सम्पन्न महोत्सवमा हेल्भेटासअन्तर्गतको इन्स्योर परियोजनाले आर्थिक सहयोग गरेको थियो।

महोत्सवमा कक्षा १० का विद्यार्थी सहभागी भएका थिए। उनीहरू १२ समूहमा विभाजित भई विभिन्न मिष्ठान्न तथा खाद्य परिकार तयार गरी विद्यार्थी, अभिभावक तथा आगन्तुकलाई चखाएका थिए।

विद्यार्थीहरूले चटपट, मःम, चाउमिन, सुक्खा रोटी, पानीपुरी, आलुका विभिन्न परिकार तथा भुटेका र पोलेका मकालगायतका खाद्य सामग्री तयार पारेका थिए। यसले विद्यालयको दिवा खाजा कार्यक्रमलाई समेत प्रभावकारी बनाउन सहयोग पुगेको सहजकर्ता शिक्षक गोपी बरालले बताए।

World link net

खाना महोत्सवले विद्यार्थीको रचनात्मकता अभिव्यक्त गर्नुका साथै व्यावहारिक सीप विकासमा टेवा पुर्‍याएको प्रधानाध्यापक डिल्लीराम शर्माले बताए। कार्यक्रममा विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको सहभागिता रहेको थियो।

महोत्सवमा सहभागी प्रत्येक समूहलाई पाँच हजार रुपैयाँ बिउ पुँजीका रूपमा प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण शिक्षक गोपी बराल र लीला पराजुलीले गरेका थिए।

यसैबीच, इन्स्योर परियोजनाअन्तर्गत विद्यालयले कक्षा ८ र १० का विद्यार्थीलाई पोखरास्थित विभिन्न उद्योगको अवलोकन भ्रमणसमेत गराएको जनाएको छ।

यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा होटल व्यवस्थापन विषयको पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेको विद्यालयमा खाना महोत्सवको आयोजना अर्थपूर्ण रहेको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रम केवल खानाका परिकार प्रदर्शनमा सीमित नभई सामूहिक भावना अभिवृद्धि गर्ने तथा विद्यार्थीका प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले बताए।

सिटीजन फनिच्रर