पोखरा । शेर्पा समाज पोखराको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ। सागादावा पर्वको अवसरमा शनिबार पोखरा महानगरपालिका–७ स्थित पुरानो विमानस्थल अगाडि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।
पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरे। सो अवसरमा बोल्दै वडाध्यक्ष आचार्यले सागादावालाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वको प्रतीकका रूपमा पनि मनाउनुपर्ने बताए। उनले रक्तदान कार्यक्रममार्फत मानव सेवा, सहयोग र परोपकारको सन्देश प्रवाह भएको उल्लेख गरे।

कार्यक्रममा सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष तुलबहादुर गुरुङ, पूर्वाञ्चल सेवा समाज कास्कीका अध्यक्ष बालकुमार लुइटेल, सन्दर्भ टोल विकास संस्थाका सल्लाहकार तथा अधिवक्ता रघुनाथ अधिकारी एवं समाजका कानुनी सल्लाहकार केशवराज बराललगायतले रक्तदान पुण्यको कर्म भएकाले सबैले रक्तदान गरे रगत अभावका कारण कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए।
समाजका अध्यक्ष राजेश शेर्पाले रक्तदान कार्यक्रममा सहभागी रक्तदाता, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम सञ्चालन समाजका सचिव दावा शेर्पाले गरेका थिए।




