newa srijana

मिडियाको अर्थतन्त्र सुधार्न नयाँ लगानी, प्रविधि र नीतिगत सहयोग आवश्यक 

पोखरा । सञ्चार क्षेत्र आर्थिक संकटबाट गुज्रिरहेका बेला मिडियाको दिगोपनाका लागि राज्यको नीतिगत सहयोग, प्रविधिमैत्री रूपान्तरण र आयस्रोतको विविधीकरण अपरिहार्य रहेको निष्कर्ष पोखरामा आयोजित गण्डकी मिडिया समिट–२०८३ मा सहभागी वक्ताहरूले निकालेका छन्।

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशद्वारा शनिबार आयोजित समिटअन्तर्गत ‘मिडियाको अर्थतन्त्र’ विषयक सत्रमा सञ्चार क्षेत्रले भोगिरहेका आर्थिक चुनौती, डिजिटल रूपान्तरण, विज्ञापन बजार र भविष्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

छलफलमा बाह्रखरीका सम्पादक हरिबहादुर थापा, सञ्चारविज्ञ डा. भूमिराज चापागाईं, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान) की उपाध्यक्ष दुर्गा अधिकारी तथा विज्ञापन व्यवसायी उज्ज्वल शाक्य सहभागी थिए। सत्रको सहजीकरण पत्रकार पवन पौडेलले गरेका थिए।

वक्ताहरूले परम्परागत सञ्चारमाध्यममाथि डिजिटल प्लेटफर्मको बढ्दो प्रभाव, सरकारी विज्ञापन वितरणसम्बन्धी नीतिगत व्यवस्था तथा बदलिँदो विज्ञापन बजारका कारण सञ्चार क्षेत्र दबाबमा परेको उल्लेख गर्दै अब मिडियाले नयाँ प्रविधि आत्मसात् गर्नुका साथै आयका वैकल्पिक स्रोत खोज्नुपर्नेमा जोड दिए। उनीहरूको भनाइमा सञ्चारमाध्यमको आर्थिक अवस्था र पाठक तथा दर्शकको पहुँच (अडियन्स) सँगसँगै अघि बढ्नुपर्छ।

पत्रकार हरिबहादुर थापाले खोजमूलक पत्रकारिताको नेतृत्व परम्परागत सञ्चारमाध्यमले गर्दै आएको उल्लेख गर्दै सामाजिक सञ्जाल वा भाइरल सामग्रीसँग प्रतिस्पर्धा गर्ने नाममा आफ्नो मूल चरित्र गुमाउन नहुने बताए। यस्ता सञ्चारमाध्यम कमजोर बन्दै गए लोकतान्त्रिक समाजमै अराजकता बढ्न सक्ने उनको भनाइ थियो।

प्रविधि आत्मसात् गर्न परम्परागत मिडियाले ढिलाइ गरिसकेको उल्लेख गर्दै उनले सञ्चार क्षेत्रमा नयाँ लगानी आकर्षित गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए। बैंकिङ प्रणालीमा रहेको पुँजी उत्पादनशील क्षेत्रमा लगानी हुने वातावरण बने त्यसले सञ्चार क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने उनको धारणा थियो। मिडियामा लगानीका लागि राज्यले स्पष्ट नीति बनाउनुपर्ने र सरकारी विज्ञापन वितरणलाई पारदर्शी बनाउन सम्बन्धित निकायले रकम सिधै सञ्चारमाध्यमको खातामा पठाउने व्यवस्था गर्न सकिने सुझाव उनले दिए।

निजी सञ्चारमाध्यमले ठूलो मात्रामा रोजगारी सिर्जना गरेको विषयलाई राज्यले बेवास्ता गर्न नहुने उल्लेख गर्दै उनले सरकारी विज्ञापनसम्बन्धी नीतिप्रति असन्तुष्टि जनाए। राज्यले सञ्चार क्षेत्रमाथि अत्यधिक नियन्त्रण गर्न खोजे त्यसले दीर्घकालीन रूपमा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउन सक्ने चेतावनी पनि उनले दिए।

सिटीजन फनिच्रर

सञ्चारविज्ञ डा. भूमिराज चापागाईंले डिजिटल सञ्चारमाध्यम लोकप्रिय हुनुको मुख्य कारण उनीहरूले आफ्ना पाठक तथा दर्शकसम्बन्धी तथ्यांक स्पष्ट रूपमा प्रस्तुत गर्न सक्नु भएको बताए। विज्ञापनदाता आफ्नो विज्ञापन कति मानिससम्म पुग्यो भन्ने तथ्यांक खोज्ने भएकाले परम्परागत सञ्चारमाध्यमले पनि त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो।

पाठक वा दर्शकले कुन ढाँचाको सामग्री रुचाइरहेका छन् भन्ने अध्ययन गरेर त्यसअनुसार सामग्री उत्पादन गर्नुपर्नेमा उनले जोड दिए। अहिले लामो सामग्रीभन्दा छोटा भिडियो र रिलतर्फ दर्शकको आकर्षण बढेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले आयस्रोत विविधीकरण, सार्वजनिक बहसका कार्यक्रम तथा दीर्घकालीन व्यवसायिक योजना बनाउनुपर्ने सुझाव दिए। एक वर्षको राजस्व योजना, तीन वर्षको डिजिटल रणनीति र पाँच वर्षको दिगोपना योजना तयार गरेर अघि बढ्नुपर्ने उनको धारणा थियो।

नेपाल विज्ञापन संघका प्रथम उपाध्यक्षसमेत रहेका विज्ञापन व्यवसायी उज्ज्वल शाक्यले कोभिड–१९ महामारीपछि सञ्चार क्षेत्र थप संकटमा परे पनि समग्र विज्ञापन बजार भने उल्लेख्य रूपमा संकुचित नभएको बताए। परम्परागत सञ्चारमाध्यमले पनि प्रभाव मापन (मेजरमेन्ट) प्रणाली विकास गर्दै नयाँ प्रविधिसँग अनुकूल हुनुपर्नेमा उनले जोड दिए।

आजको सबैभन्दा ठूलो चुनौती मानिसको ध्यान आकर्षित गर्नु भएको उल्लेख गर्दै उनले विश्वव्यापी प्रतिस्पर्धाबीच स्थानीय सन्दर्भ, समसामयिकता र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने बताए। अन्य व्यवसायले प्रविधिको व्यापक प्रयोग गरिसकेकाले सञ्चारमाध्यम त्यसबाट टाढा रहन नसक्ने उनको भनाइ थियो।

वानकी उपाध्यक्ष दुर्गा अधिकारीले सञ्चार क्षेत्र अहिले प्रभावकारी नेतृत्व र अभिभावकत्वको अभावमा रहेको टिप्पणी गरिन्। पोखरामा विगतमा सञ्चालनमा रहेका ३९ रेडियोमध्ये अहिले करिब आधामात्र सक्रिय रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यम टिकाइराख्न गुणस्तरीय सामग्री र समुदायसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइन्।

रेडियो सफलताकी सञ्चालकसमेत रहेकी अधिकारीले लामो समय प्रसारण गर्नु मात्र पर्याप्त नहुने बताउँदै कम समय भए पनि प्रभावकारी र गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्ने सुझाव दिइन्। गण्डकी प्रदेशमा अझै पनि ७२ प्रतिशत नागरिकले कुनै न कुनै माध्यमबाट समाचार उपभोग गर्ने तथ्यांकले सञ्चार क्षेत्रको सम्भावना कायम रहेको उनको भनाइ थियो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य तथा प्रेस रजिष्ट्रार बिमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘पत्रकारितामा एआई’ विषयमा अर्को सत्रसमेत सञ्चालन गरिएको थियो। सोही अवसरमा गण्डकी प्रदेशका पाँच जना अग्रज पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रारको कार्यालय स्थापना भएयता पहिलोपटक आयोजित यस प्रकारको मिडिया समिटलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने प्रेस रजिष्ट्रार बिमला भण्डारीले जानकारी दिइन्।

Pokhara learners