newa srijana

म्याजेस्टिक लेक फ्रन्ट होटल चौथो वर्षमा प्रवेश, वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका–६, खहरे, लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालि चौथो वर्षमा प्रवेश गरेको छ।

वार्षिकोत्सवका अवसरमा होटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरी उत्सव मनाएको छ।

होटलले नेपाली मौलिकता र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा प्रदान गर्दै आन्तरिक तथा विदेशी पर्यटकमाझ छुट्टै पहिचान स्थापित गर्न सफल भएको जनाएको छ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन होटलका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई र सुशीला भट्टराईले संयुक्त रूपमा गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष भट्टराईले प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न पोखरामा होटल व्यवसाय नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले होटलले स्थानीय उत्पादन, संस्कृति र समुदायसँग जोडिएका सेवा तथा सामग्रीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

सिटीजन फनिच्रर

होटलका प्रबन्ध निर्देशक कृष्ण पौडेलले होटलको तीन वर्षे यात्रामा निरन्तर साथ, सहयोग र विश्वास गर्ने ग्राहक, शुभेच्छुक, नियमनकारी निकाय तथा कर्मचारीप्रति आभार व्यक्त गरे।

करिब १२ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ६२ वटा सुसज्जित कोठा तथा ३०० र १५० जना क्षमताका दुईवटा सेमिनार हल रहेका छन्।

होटलमा डिलक्स बुटिक, सुपर डिलक्स, जुनियर सुइट तथा प्रेसिडेन्सियल सुइट उपलब्ध छन्। आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना पनि होटलले अघि सारेको छ।

वार्षिकोत्सवका अवसरमा होटलले रक्तदान, फुटसल प्रतियोगिता तथा मानवसेवा आश्रम, छोरेपाटन केन्द्रका ९१ जना आश्रितलाई भोजन गराएको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २५ युनिट रगत सङ्कलन भएको होटलका लेखापाल दीपक पौडेलले बताए।

स्थानीय ढुङ्गा र काठकलाको प्रयोग गरी वातावरणमैत्री ढङ्गले निर्माण गरिएको होटलमा स्विमिङ पुल, आधुनिक स्पा, रेष्टुरेन्ट, बार तथा पर्याप्त पार्किङसहितका आधुनिक सुविधा उपलब्ध छन्।

वार्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरी होटलमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको होटलले जनाएको छ।

Pokhara learners