पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’बाट पत्रकार खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा) लाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनीहरूलाई फोनिज स्थापना दिवसका अवसरमा साउन २१ गते पोखरामा आयोजित समारोहमा पुरस्कार प्रदान गरिनेछ।
फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङका अनुसार प्रतिभा छनोट समितिको सिफारिसका आधारमा प्रदेश समितिको बैठकले सारुमगर र जिटीको नाम अनुमोदन गरेको हो। पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।
फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले दुवै पत्रकारको नाम सिफारिस गरेको थियो। समितिमा फोनिज गण्डकीका संघीय सचिव एमबी आस्था मगर, सल्लाहकार मनोज घर्तीमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर सदस्य थिए।

पुरस्कृत हुने पत्रकार खेम सारुमगर सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र, पोखरामा कार्यरत छन्। उनले २०५१ सालदेखि तत्कालीन रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र, पोखराबाट पत्रकारिता सुरु गरेका हुन्। समाचारवाचक (मगर भाषा), समाचार सम्पादक हुँदै हाल वरिष्ठ सम्पादकका रूपमा कार्यरत छन्।
पत्रकार गोपाल जिटी २०६७ सालदेखि पत्रकारितामा सक्रिय छन्। उनले सामुदायिक रेडियो वालिङ एफएम र वालिङ टेलिभिजनमा काम गरिसकेका छन्। हाल उनी प्रमाण मिडिया ग्रुप प्रालिअन्तर्गत प्रकाशित प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइनमा कार्यरत छन्।
पोखराका व्यवसायी विमलमान गुभाजु तथा उनका परिवारले आफ्ना स्वर्गीय बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय दुई जना पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ।
यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ र राम गुरुङ, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र कमला राना, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली तथा गोरखाका कैलाशबाबु श्रेष्ठ उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन्।




