newa srijana

भैँसेगौडा–राङभाङको जैविक विविधता प्रोफाइल सार्वजनिक

जैविक विविधता संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भैँसेगौडा र बिरुवा गाउँपालिका–३ राङभाङ क्षेत्रको जैविक विविधता समेटिएको ‘बायोडाइभर्सिटी प्रोफाइल’ सार्वजनिक गरिएको छ। प्रकृतिका साथीहरू संस्था र मिलेनियम भैँसेगौडा सामुदायिक होमस्टेको सहकार्यमा तयार गरिएको पुस्तक बुधबार पोखरामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

पुस्तकमा भैँसेगौडा र राङभाङ क्षेत्रको भौगोलिक अवस्था, जैविक विविधता, संरक्षणका अवसर तथा चुनौतीको विश्लेषण गरिएको छ। साथै २७९ प्रजातिका वनस्पति, १२६ प्रजातिका पुतली, १६ प्रजातिका सरीसृप तथा उभयचर, २२९ प्रजातिका चराचुरुङ्गी र २६ प्रजातिका स्तनधारी वन्यजन्तुको नेपाली, अङ्ग्रेजी र वैज्ञानिक नामसहितको सूची समावेश गरिएको छ।

पुस्तकको लेखन चरा, वन्यजन्तु, पुतली, चमेरा तथा वनस्पति अनुसन्धानमा संलग्न राजु आचार्य, यादवप्रसाद घिमिरे, विकास घिमिरे, सुमन सापकोटा, सुरेन्द्र परियार, सोम जीसी, कृष्णप्रसाद भुसाल, ऋषि बराल, विनय घिमिरे, किरण पन्थी, सङ्गम पौडेल, वर्षा अधिकारी, बालकुमार गुरुङ र करणबहादुर शाहले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण परियोजनाबारे कार्यपत्र प्रस्तुत गर्दै स्थानीय समुदाय र सरोकारवाला निकायबीचको समन्वयबाट मात्र द्वन्द्व न्यूनीकरण सम्भव हुने बताए। उनका अनुसार वन्यजन्तुका कारण हालसम्म ७१८ वटा पशुधनमा क्षति पुगेको छ भने बाँदर, दुम्सी र रतुवाका कारण अन्नबालीमा समेत व्यापक क्षति हुँदै आएको छ। संस्थाले प्रभावित किसानलाई प्रतिव्यक्ति १२ हजार रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।

भैँसेगौडा–राङभाङको जैविक विविधता प्रोफाइल
सिटीजन फनिच्रर

आचार्यले अनुसन्धानका क्रममा चितुवा, चरीबिरालो, दुम्सीलगायत २६ प्रजातिका स्तनधारी वन्यजन्तु अभिलेखीकरण गरिएको बताए। अध्ययन हिउँद याममा गरिएको भएकाले अन्य मौसममा अझ बढी प्रजातिका चरा, पुतली तथा सरीसृप भेटिन सक्ने अनुसन्धानकर्ताको निष्कर्ष छ।

भैँसेगौडा सामुदायिक होमस्टेका सञ्चालक बालकुमार गुरुङले जैविक विविधता संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनका लागि गाउँमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताए। उनका अनुसार २०७५ सालमा प्रकृतिका साथीहरू र स्थानीय समुदायको सहकार्यमा लाटोकोसेरो संरक्षण उत्सव आयोजना गरिएको थियो। सोही वर्ष पाँच घरबाट सामुदायिक होमस्टे सञ्चालन सुरु गरिएको र हाल स्वदेशी तथा विदेशी पर्यटक प्रकृतिको अध्ययन तथा अवलोकनका लागि आउने गरेका छन्।

उनले वन्यजन्तु अनुसन्धानसम्बन्धी तालिम, विभिन्न संरक्षण कार्यक्रम तथा अन्य क्षमता अभिवृद्धिका गतिविधि नियमित सञ्चालन हुँदै आएको जानकारी दिए।

पुस्तक विमोचन कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, प्रकृतिका साथीहरूका अध्यक्ष सोम जीसी तथा वन विज्ञान अध्ययन संस्थान, पोखराका प्राध्यापक सुमन भट्टराईले जैविक विविधताको अभिलेखीकरणले संरक्षणसँगै पर्यापर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।

प्रकृतिका साथीहरू संस्थाले देशका विभिन्न स्थानमा लाटोकोसेरो संरक्षण महोत्सव आयोजना गर्दै आएको छ। आगामी दिनमा सामुदायिक वनमा वन्यजन्तुका लागि पोखरी निर्माण, ‘किरा होटल’, चमेरा बगैँचा, लाटोकोसेरो संरक्षण केन्द्र स्थापना, विद्यालयमा नेचर क्लब गठन, साइकल पर्यटन प्रवर्द्धन तथा प्रकृतिमा आधारित खुला विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य संस्थाले अघि सारेको छ।

Pokhara learners