newa srijana

महिला नेतृत्वमार्फत पर्यटन प्रवर्द्धनमा सहकार्य सुदृढ गर्ने टेवानको प्रतिबद्धता

आठौँ वार्षिक साधारण सभामा महिला उद्यमशीलता, पर्यटन व्यवसाय विस्तार र संस्थागत सुदृढीकरणमा जोड

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले महिला नेतृत्व, पर्यटन प्रवर्द्धन र दिगो पर्यटन विकासलाई केन्द्रमा राख्दै आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले महिला सशक्तीकरण, पर्यटन व्यवसाय विस्तार, संस्थागत क्षमता अभिवृद्धि तथा नेपालको पर्यटन प्रवर्द्धनमा संस्थाको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

साधारण सभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महिला उद्यमशीलता र पर्यटन विकासलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताउँदै टेवानजस्ता संस्थाले महिला नेतृत्व विकाससँगै पर्यटन उद्योगलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। महानगर र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको उनको भनाइ थियो।

पर्यटन उद्योगको दिगो विकासका लागि सरकारी निकाय, निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित संघसंस्थाबीच सुदृढ सहकार्य आवश्यक रहेको नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी समिति सदस्य सन्तोष पोखरेलले बताए। महिला नेतृत्वको सक्रिय सहभागिताले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धन र सेवा गुणस्तर अभिवृद्धिमा टेवानले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

चुनौतीपूर्ण परिस्थितिका बाबजुद महिला पर्यटन व्यवसायीलाई संगठित गर्न उनीहरूको क्षमता अभिवृद्धि गर्न तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउन संस्था सफल भएको संस्थाकी अध्यक्ष शोभा न्यौपाने पाण्डेले बताइन्। आगामी दिनमा महिला नेतृत्व विकास र पर्यटन क्षेत्रको समृद्धिका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उनले बताइन्।

सिटीजन फनिच्रर

महासचिव शोभा अधिकारी पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महिला क्षमता अभिवृद्धि, पर्यटन प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटन विकास, सदस्य विस्तार तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थाले सञ्चालन गरेका गतिविधिबारे जानकारी गराइन्। कोषाध्यक्ष शारदा लम्सालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो।

कार्यक्रममा पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल तथा टेवानकी संस्थापक अध्यक्ष लक्ष्मी कार्की क्षेत्रीले पर्यटन क्षेत्रको समग्र विकासका लागि महिला नेतृत्व, निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए।

साधारण सभाका अवसरमा नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्यमा नियुक्त पोखरेललाई टेवानले सम्मान गरेको थियो। साथै संस्थामा आबद्ध नयाँ सदस्यलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो।

साधारण सभाले महिला नेतृत्व सुदृढीकरण, पर्यटन उद्योगको विकास तथा संस्थागत सक्षमीकरणका लागि संस्था निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

Pokhara learners