newa srijana

जनप्रिय माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

नयाँ शैक्षिक सत्रमा भर्ना भएका ३५० विद्यार्थीलाई सांस्कृतिक कार्यक्रममार्फत स्वागत

पोखरा । जनप्रिय माध्यमिक विद्यालय, सिमलचौरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन्। नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत शुक्रबार आयोजित कार्यक्रममा ३५० जना विद्यार्थीलाई फूल, अबिर तथा सांस्कृतिक कार्यक्रममार्फत स्वागत गरिएको हो।

कक्षा १२ की छात्रा सन्ध्या श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा विज्ञान, व्यवस्थापन, शिक्षा र सिभिल संकायमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको थियो। विद्यार्थी श्रीया अर्याल, दीपु परियार र वेदकुमारीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक विष्णुहरि त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

शिक्षक श्रीकान्त पौडेलले सहजीकरण गरेको कार्यक्रममा प्राप्ती गुरुङ, अञ्जना गिरी, रेजिना भुजेल, प्रीति गुरुङ, चिना गुरुङ, कृष्मा विक, साइना गोले, विपना गौतमलगायतका विद्यार्थी समूहले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए। हास्य कलाकार दीपक थापाले जादु प्रदर्शनमार्फत मनोरञ्जन प्रदान गरेका थिए।

सिटीजन फनिच्रर

नवआगन्तुक विद्यार्थीका तर्फबाट स्मारिक देवकोटाले जनप्रियमा अध्ययन गर्न पाउँदा उत्साहित भएको बताउँदै कक्षा १२ का विद्यार्थीप्रति धन्यवाद व्यक्त गरिन्। उनले विद्यालयको हितका लागि सबै साथी मिलेर काम गर्ने प्रतिबद्धता जनाइन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद त्रिपाठीले विद्यालयको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले प्रविधिको सकारात्मक र जीवनोपयोगी प्रयोग गर्न तथा विषयगत शिक्षकबाट बढीभन्दा बढी ज्ञान आर्जन गर्न विद्यार्थीलाई आग्रह गरे। उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक र विद्यार्थी दुवैको सक्रियता आवश्यक रहेको उल्लेख गरे।

विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले विद्यालयले स्मार्ट बोर्ड, अतिरिक्त क्रियाकलाप, ‘बुक फ्राइडे’, कम्प्युटर शिक्षा, शिक्षक तालिम तथा जीवनोपयोगी सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले विद्यालयमा चिनियाँ भाषा, सिभिल इन्जिनियरिङ, पुस्तकालय र प्रयोगशालालगायतका सुविधा उपलब्ध रहेको बताए।

Pokhara learners