newa srijana

फिर्केखोला करिडोर निर्माण अभियानलाई निरन्तरता दिन माग

खोलाघरमा बनेका संरचना हटाई संरक्षण र सौन्दर्यकरणको काम पूरा गर्न आग्रह

पोखरा । नागरिक समाज कास्कीअन्तर्गत सञ्चालित वातावरण संरक्षणका लागि महाअभियान ले फिर्केखोला करिडोर निर्माण अभियानअन्तर्गत खोलाघर खाली गर्ने कार्य बीचमै रोकिएको भन्दै अभियानलाई पूर्णता दिन सम्बन्धित निकायसँग माग गरेको छ।

फिर्केखोला पोखरा महानगरपालिकाका १८, २, ४, ५, ८, ७, ६ र १७ नम्बर वडा हुँदै फेवातालको गाईघाटमा मिसिने महत्वपूर्ण प्राकृतिक तथा पर्यावरणीय सम्पदा भएकाले यसको संरक्षण, सौन्दर्यकरण र व्यवस्थित उपयोगलाई प्राथमिकता दिनुपर्ने अभियानका संयोजक रामबहादुर पौडेलले आयोजित पत्रकार सम्मेलनमा बताए। उनले करिब १५ वर्षदेखि नागरिकस्तरबाट सञ्चालन हुँदै आएको फिर्केखोला बचाउ अभियान तथा फिर्के–बुलौदी खोला बृहत् सफाइ अभियानमार्फत फेवातालदेखि सराङकोटको फेदी अँधेरीकुनासम्म करिडोर, पैदलमार्ग र साइकल लेन निर्माणको अवधारणा अघि बढाइएको स्मरण गराए।

सिटीजन फनिच्रर

उनले अनियन्त्रित अतिक्रमण, प्रदूषण, फोहरमैला व्यवस्थापनमा कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनको अभावका कारण फिर्केखोलाको प्राकृतिक स्वरूप र अस्तित्व संकटमा पर्दै गएको बताए। नेपाल सरकारको अतिक्रमण हटाउने अभियानअन्तर्गत फिर्केखोलामा सञ्चालन गरिएको डोजर अभियान प्रारम्भमा प्रभावकारी भए पनि बीचमै रोकिँदा अभियानको उद्देश्य नै प्रभावित भएको उनको भनाइ थियो।

महाअभियानले वडा नम्बर ४, ५, ७ र ८ का विभिन्न स्थानमा खोलाघरमा बनेका घर, टहरा, पर्खाल, सामुदायिक भवन तथा अन्य संरचना अझै पूर्ण रूपमा नहटाइएको जनाएको छ। केही स्थानमा संरचना आंशिक रूपमा मात्रै हटाइएको तथा कतिपय भवन अझै पनि आवास तथा अन्य प्रयोजनका लागि प्रयोग भइरहेकाले खोलाघर पूर्ण रूपमा खाली गरी करिडोर निर्माणलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

महाअभियानले फिर्केखोला करिडोर निर्माणलाई वातावरण संरक्षण, जैविक विविधताको संरक्षण तथा दिगो सहरी विकाससँग जोडिएको अभियान भएको उल्लेख गर्दै कुनै पनि दबाब वा प्रभावमा नपरी खोलाघरमा बनेका सबै संरचना हटाउने कार्य सम्पन्न गर्न र करिडोर निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

Pokhara learners