पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पृथ्वीनारायण क्याम्पस पोखराले सञ्चालन गरेको बीएएलएलबी प्रवेश परीक्षा तयारी कक्षाअन्तर्गत आयोजित नमूना परीक्षामा दिपिका धमला प्रथम भएकी छन्।
स्ववियुले साउन १५ गते सञ्चालन गरेको नमूना प्रवेश परीक्षामा दिपिकाले ५५.१७ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी हुन्। ५३.८३ अंकसहित एञ्जल राना द्वितीय र ५२.२० अंकसहित सुस्मिता पन्थ तृतीय भएकी छन्।
उत्तीर्ण विद्यार्थीलाई सोमबार आयोजित पुरस्कार वितरण तथा तयारी कक्षा समापन कार्यक्रममा सम्मान गरिएको थियो। प्रथम हुने दिपिकालाई प्रशंसापत्रसहित चार हजार रुपैयाँ, द्वितीय एञ्जललाई दुई हजार रुपैयाँ र तृतीय सुस्मितालाई एक हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गरिएको थियो।

कानून अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षाको तयारीमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको कार्यक्रम संयोजक प्रचण्ड शक्ति गुरुङले बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई परीक्षाको तयारीमा सहयोग पुग्ने धारणा व्यक्त गरे।
कार्यक्रम स्ववियु अध्यक्ष विष्णु पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
यसैबीच त्रिभुवन विश्वविद्यालय कानून संकाय, डिनको कार्यालयले सञ्चालन गर्ने पाँच वर्षीय स्नातक (बीएएलएलबी) शैक्षिक सत्र २०८३/०८४ को प्रवेश परीक्षा साउन २३ गते शनिबार देशभर हुँदैछ। परीक्षामा १ हजार ६५४ जना परीक्षार्थी सहभागी हुनेछन्। पृथ्वीनारायण क्याम्पस, पोखरा परीक्षा केन्द्रबाट ७२ जना परीक्षार्थी सहभागी हुने जनाइएको छ।




