newa srijana

बाँस रोपेर वन संरक्षण र आयआर्जनमा जोड

सामुदायिक वन दिवसमा रातोपैह्रा र कालजरुवामा ५ सय २० बाँसका बिरुवा रोपिए

पोखरा । सामुदायिक वनलाई संरक्षणसँगै आयआर्जन र उद्यमसँग जोड्ने उद्देश्यले पोखरा–१७ का दुई सामुदायिक वन क्षेत्रमा ५ सय २० बाँसका बिरुवा रोपिएको छ। सामुदायिक वन दिवसको अवसरमा रातोपैह्रा सामुदायिक वन क्षेत्रमा २ सय ५० र कालजरुवा सजिवन घारी सामुदायिक वन क्षेत्रमा २ सय ७० बाँसका बिरुवा रोपिएको हो।

रातोपैह्रा सामुदायिक वनको भिरालो पाखोमा आयोजित वृक्षारोपण कार्यक्रमको पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगीले बाँसको बिरुवा रोपेर शुभारम्भ गरिन्। उनले मानव जीवनका सुख–दुःखसँग बाँसको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै यसको संरक्षण र उपयोगमा जोड दिइन्।

पोखरा–१७ मा रातोपैह्रा र कालजरुवा गरी दुईवटा सामुदायिक वन समूह रहेको जानकारी दिँदै उनले चितवनबाट करिब १ लाख रुपैयाँमा खरिद गरिएका ५ सय बाँसका बिरुवा रोप्न प्रोत्साहन गरिएको बताइन्। सेती नदी र फुस्रेखोलाको किनारमा रहेका दुवै वन समूहको आयआर्जन तथा माटो संरक्षणमा बाँसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

रोपिएका बिरुवाको संरक्षण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै वडाध्यक्ष शाहीले वृक्षारोपण गरेर मात्र नपुग्ने भएकाले बिरुवाको हुर्काइ र संरक्षणमा पनि ध्यान दिनुपर्ने बताइन्।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल काफ्लेले वन संरक्षण गर्नु वन्यजन्तु र समग्र जैविक विविधताको संरक्षण गर्नु भएको बताए। विश्वमा बढ्दो जनसंख्याका कारण वातावरणीय सन्तुलनमा परेको असर न्यूनीकरणमा सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले वनलाई उद्यमसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।

सिटीजन फनिच्रर

स्थानीय तथा मौलिक प्रजातिका बिरुवा हुर्काउन सामुदायिक वन उपयुक्त हुने बताउँदै काफ्लेले वन समूहले काठ बिक्री र वन पैदावारको उपयोगसँगै वातावरण संरक्षणमा अतुलनीय योगदान पुर्‍याउँदै आएको बताए।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवं रातोपैह्रा सामुदायिक वन समूहका वरिष्ठ सल्लाहकार हरिप्रसाद बास्तोलाले सिन्धुपाल्चोकको ठोकरपा सामुदायिक वन समूहबाट सुरु भएको सामुदायिक वन अभियान अहिले मुलुकका ७७ वटै जिल्लामा विस्तार भएको बताए।

नेपाल सर्वोच्च शिखर सगरमाथा र बुद्ध जन्मभूमिका कारण विश्वमा परिचित भएजस्तै सामुदायिक वनको देशका रूपमा समेत चिनिन थालेको उल्लेख गर्दै उनले वन क्षेत्रलाई मुलुकको समृद्धिसँग जोड्न तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए।

साढे १२ हेक्टर क्षेत्रफलमा फैलिएको रातोपैह्रा सामुदायिक वनमा विभिन्न समयमा रोपिएका चाँप, लप्सी, उत्तिस, रुद्राक्ष, बाँस तथा अन्य स्थानीय प्रजातिका बिरुवाले वन क्षेत्र हराभरा बन्दै गएको बास्तोलाले बताए। उपभोक्ताले वन पैदावारको उपयोगभन्दा संरक्षणलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले यस्ता वन समूहलाई राज्यका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए।

वन समूहका अध्यक्ष भगवान पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु थापाले स्वागत तथा सचिव लेस्ली ठुसाजुले सञ्चालन गरेका थिए। बाँस रोपण कार्यक्रममा वन समूहका पदाधिकारी, उपभोक्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता थियो।

यसअघि पोखरा–१७ स्थित कालजरुवा सजिवन घारी सामुदायिक वन समूहमा २ सय ७० बाँसका बिरुवा रोपिएको समूहका अध्यक्ष विक्रम भण्डारीले जानकारी दिए। दुवै सामुदायिक वन क्षेत्रमा रोपिएका बाँसका बिरुवा पोखरा–१७ वडा कार्यालयले निःशुल्क उपलब्ध गराएको हो।

Pokhara learners