पोखरा । सहारा फुटबल एकेडेमीको सहयोगार्थ पोखरामा शनिबार ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको छ। पोखरा महानगरपालिका–९ को समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा हुन लागेको हाइकिङबाट संकलित रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगमा प्रयोग गरिने भएको छ।
पोखरा–९ स्थित फल्चाबाट बिहान करिब ७ बजे सुरु हुने हाइकिङ पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुगेर सम्पन्न हुनेछ। प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए।
हाइकिङमा सहभागी हुन प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ। सहभागीलाई शुल्कमा टी–सर्ट, खाजा र खाना उपलब्ध गराइने आयोजकले जनाएको छ।
सहारा एकेडेमीमा हाल पोखरा–१७ दोबिल्लास्थित एकेडेमीमा विभिन्न १६ जिल्लाका ३० जना बालक आबद्ध भई फुटबल प्रशिक्षण लिइरहेका छन्। सामाजिक सेवाको यस अभियानमा पोखरा महानगरपालिका–९, तमुधीं यूके, सहारा यूके, एन्फा कास्कीलगायत विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोग रहेको सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी दिए। उनले अभियान सफल बनाउन सहयोग गर्ने सबैलाई अग्रिम धन्यवाद दिएका छन्।
हाइकिङका लागि हालसम्म करिब १ सय ५० जनाले नाम दर्ता गराइसकेको कार्यक्रम संयोजक पूर्णबहादुर गुरुङले बताए। थप सहभागीलाई समेट्ने तयारी भइरहेको र करिब ३ सय जनासम्म सहभागी गराउने लक्ष्य रहेको उनले जानकारी दिए।


सहारा क्लब पोखराले लामो समयदेखि सामाजिक सेवाका विभिन्न गतिविधिसँगै सहारा फुटबल एकेडेमी तथा आहा! रारा पोखरा गोल्डकप सञ्चालन गर्दै आएको छ। क्लबको सामाजिक योगदानलाई थप प्रोत्साहन गर्ने उद्देश्यले महानगरपालिका–९ को सहकार्यमा हाइकिङ आयोजना गर्न लागिएको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए।
“मानव जीवनमा स्वास्थ्य अत्यन्त महत्वपूर्ण विषय हो। कम्तीमा एक दिन भए पनि शारीरिक व्यायाम गरौँ भन्ने सन्देश दिनुका साथै सामाजिक सेवामा योगदान गर्ने उद्देश्यले हाइकिङ आयोजना गर्न लागिएको हो,” उनले भने।
हाइकिङले पोखराका पर्यटकीय तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धनसँगै स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने र सामाजिक सेवामा नागरिकको सहभागिता बढाउने अपेक्षा गरिएको छ। ‘आशा, करुणा र उज्ज्वल भविष्यका लागि सँगै हिँडौँ’ भन्ने भावनासहित आयोजना हुन लागेको अभियानमा सबै क्षेत्रका नागरिकलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ।
कार्यक्रमका लागि पोखरा महानगरपालिका–९ ले २ लाख, तमुधीं यूकेले २ लाख, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले ५० हजार, सहारा क्लबका मानार्थ सदस्य तथा सहारा यूकेका पूर्वअध्यक्ष एमबीई दीपीलकुमार गुरुङले २५ हजार, सहारा यूकेका निवर्तमान अध्यक्ष कृष्णकुमार गुरुङले १० हजार र क्लबका आजीवन सदस्य मनोज गुरुङले १० हजार रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ।
तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले कठिन परिस्थिति र विपन्न वर्गका बालबालिकाका लागि निःस्वार्थ रूपमा सञ्चालित सहारा एकेडेमीको सहयोगार्थ आयोजना गरिएको हाइकिङ सफल बनाउन आफूहरूले सहयोग गरेको बताए। रोजगारीका सिलसिलामा विदेशमा रहे पनि स्वदेशप्रतिको माया र सद्भाव सधैँ कायम रहने उल्लेख गर्दै उनले विगतदेखि सामाजिक कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।
एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितले सहारा क्लबले फुटबलको विकाससँगै सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएकाले क्लबको कार्यलाई प्रोत्साहन गर्न सहयोग गरिएको बताए। उनले हाइकिङ कार्यक्रम सफल बनाउन खेलकुदकर्मीलाई सहभागी हुन आग्रह गरे।




