newa srijana

अन्तर्राष्ट्रिय बजारको लक्ष्यमा लुम्ले कफी, क्यापस्टोन एक्सेलेरेटरमा छनोट

अमेरिकी दूतावासको उद्यमशीलता कार्यक्रमका लागि नेपालभरबाट छनोट २० उद्यमीमध्ये कास्कीको लुम्ले कफी पनि

पोखरा । कास्कीको लुम्लेमा उत्पादन हुँदै आएको कफीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको ‘लुम्ले कफी’ अमेरिकी दूतावास नेपालको क्यापस्टोन एक्सेलेरेटर कार्यक्रमका लागि छनोट भएको छ। स्थानीय उत्पादनलाई व्यावसायिक र निर्यातमुखी बनाउने प्रयास गरिरहेको लुम्ले कफी नेपालभरबाट छनोट भएका २० उद्यममध्ये परेको हो।

अमेरिकी दूतावास नेपाल र इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युटको आयोजनामा अगस्ट ५ देखि ७ सम्म काठमाडौंमा सञ्चालन भएको ‘उद्यमशीलता विकास कार्यक्रम : क्यापस्टोन एक्सेलेरेटर’मा विभिन्न क्षेत्रका छनोट भएका उद्यमी तथा व्यवसाय सहभागी भएका थिए।

कार्यक्रमको प्रारम्भिक चरणमा विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज, धनगढी र पोखराबाट करिब दुई सय उद्यमी सहभागी भएका थिए। उद्यमीको प्रतिबद्धता, व्यावसायिक अवधारणा, वृद्धि सम्भावना, निर्यातमुखी सोच, लगानी तयारी, व्यवसायको प्रगति तथा सञ्चार क्षमताका आधारमा २० उद्यमीलाई अन्तिम चरणका लागि छनोट गरिएको थियो।

छनोट भएको लुम्ले कफी कास्कीको लुम्ले क्षेत्रमा कफी खेतीसँगै प्रशोधन, रोस्टिङ, सीप विकास तथा निर्यातमा केन्द्रित उद्यम हो। लुम्लेका नवीन देवकोटाले सन् २०१९ देखि ‘लुम्ले कफी स्टेट’ सञ्चालन गर्दै आएका छन्।

सिटीजन फनिच्रर

स्थानीय क्षेत्रमा उत्पादन हुने कफीलाई गुणस्तरीय तथा व्यावसायिक उत्पादनका रूपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यले लुम्ले कफीले काम गर्दै आएको छ।

तीनदिने क्यापस्टोन एक्सेलेरेटर कार्यक्रममा सहभागी उद्यमीलाई निर्यात तयारी, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्रविधि, लगानी तयारी, बजार पहिचान, व्यवसायिक मोडल विकास तथा कानुनी अनुपालनलगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको दोस्रो दिन नेपालका लागि अमेरिकी दूतावासका चार्जे डी’अफेयर्स स्कट अर्बमले सहभागी उद्यमीसँग भेट गरी उनीहरूका व्यवसाय, सम्भावना तथा चुनौतीबारे जानकारी लिएका थिए। सो अवसरमा कृषि तथा खाद्य क्षेत्रमा आबद्ध उद्यमीले आफ्ना उत्पादनसमेत प्रदर्शन गरेका थिए।

क्यापस्टोन एक्सेलेरेटर अमेरिकी दूतावासले नेपालका विभिन्न सात सहरमा सञ्चालन गरेको उद्यमशीलता प्रशिक्षण कार्यक्रमको उन्नत चरण हो। यस कार्यक्रममार्फत नेपाली उद्यमीलाई अमेरिकी विज्ञ, मेन्टर, लगानीकर्ता तथा व्यावसायिक सञ्जालसँग जोड्दै व्यवसाय विस्तार, निर्यात वृद्धि र लगानीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

लुम्ले कफी क्यापस्टोन एक्सेलेरेटरमा छनोट हुनुलाई कास्कीको स्थानीय उत्पादनलाई राष्ट्रिय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने अवसरका रूपमा हेरिएको छ। स्थानीय किसान, उत्पादन र उद्यमशीलतालाई जोडेर कफीको मूल्य अभिवृद्धि तथा निर्यातमा योगदान पुर्‍याउने सम्भावनासमेत यसबाट थप बलियो हुने अपेक्षा गरिएको छ।

Pokhara learners