newa srijana

शैक्षिक सुधारको लक्ष्यसहित महेन्द्र माविमा नयाँ समिति गठन

नारायणप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन

पोखरा ।

पाेखरा महानगर पालिका १९ घार्मी स्थित महेन्द्र माध्यमिक विद्यालयले नयाँ विद्यालय व्यवस्थापन समिति  विद्यालयकै पूर्वविद्यार्थी नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सात सदस्यीय समिति गठन  भयाे ।

आइतबार सम्पन्न अभिभावक भेलाले अधिकारीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्दै नयाँ समिति गठन गरेको हो । समितिमा जमुना पौडेल, शर्मिला सुनार र देउकुमारी खनाल सदस्य रहेका छन् । शिक्षक प्रतिनिधिका रूपमा शरदराज सापकोटा, पदेन सदस्यका रूपमा वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे तथा सदस्य–सचिवमा प्रधानाध्यापक नन्दराज दाहाल रहेका छन् ।

त्यसैगरी भेलाले शिक्षक–अभिभावक संघको अध्यक्षमा शोभा पौडेललाई चयन गरेको छ । संघमा गंगा सुनार, तारा सुनार, रामबहादुर सुनार, टेकबहादुर सुनार, ज्योती पौडेल र शर्मिला सुनार सदस्य रहेका छन् । शिक्षक प्रतिनिधिमा सुरज अधिकारी, पदेन सदस्यमा नारायणप्रसाद अधिकारी र सदस्य–सचिवमा नन्दराज दाहाल रहेका छन् ।

भेलामा सहभागी वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थी संख्या वृद्धि र उपलब्ध भौतिक पूर्वाधारको संरक्षणलाई नयाँ समितिको प्रमुख प्राथमिकता बनाउनुपर्नेमा जोड दिएका थिए ।

सिटीजन फनिच्रर

पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले अग्रजहरूको मेहनतबाट स्थापित विद्यालयको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । विद्यार्थी संख्या अहिले न्यून भए पनि आगामी दिनमा बढ्ने विश्वास व्यक्त गर्दै उनले विद्यालयका पूर्वाधारको संरक्षण र प्रभावकारी उपयोगमा ध्यान दिन आग्रह गरे ।

वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले स्थानीय सरकारले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा निरन्तर सहयोग गर्दै आएको बताउँदै विद्यार्थी आकर्षित गर्ने नयाँ योजना ल्याउन समितिलाई सुझाव दिए ।

पोखरा महानगर पालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले शिक्षा नियमावलीको दशौं संशोधनअनुसार समिति गठन भएको जानकारी दिँदै नयाँ नेतृत्वले विद्यालयको शैक्षिक सुधारमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

व्यवस्थापन समितिका ज्येष्ठ सदस्य पुष्पेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भेलामा विद्यालयका पूर्वअध्यक्ष शोभामोहन पौडेल, लेखनाथ लामिछाने र बैकुण्ठ पौडेल लगायतले विद्यालयको चौतर्फी विकासका लागि समुदाय, अभिभावक, शिक्षक र पूर्वविद्यार्थी बीच हातेमालो आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रधानाध्यापक नन्दराज दाहालले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक शरदराज सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

एमाजी कल्चरल फाउण्डेसन जापानको सहयोगमा २०४७ सालमा स्थापना भएको महेन्द्र माध्यमिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर सुधार र विद्यार्थी संख्या वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाउँदै आएको छ ।

 

Pokhara learners