पोखरा । गत साउन २८ गतेको बाढीले क्षतिग्रस्त कास्कीको अन्नपूर्ण गाउँपालिकाका सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि विभिन्न निकाय तथा व्यक्तिबाट करिब ६० लाख रुपैयाँ सहयोग जुटेको छ । भत्किएको सडक पुनर्निर्माणको काम तीव्र पारेके छ भने गाउँपालिकाले असोज १५ गतेसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।
बाढीले वीरेठाँटी घान्द्रुक घोडेपानी छोमरोङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने सडकका विभिन्न खण्डमा क्षति पुर्याएपछि लामो समयदेखि यातायात अवरुद्ध छ । सडक बन्द हुँदा स्थानीयवासीको आवतजावत, दैनिक उपभोग्य सामग्रीको ढुवानी, स्वास्थ्य, शिक्षा तथा पर्यटन गतिविधिमा प्रत्यक्ष असर परेको छ ।
क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि गाउँपालिका, राजनीतिक दल, संघ संस्था, जनप्रतिनिधि, व्यवसायी तथा व्यक्तिहरूबाट सहयोग प्राप्त भइरहेको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए । उनका अनुसार हालसम्म पुनर्निर्माणका लागि करिब ६० लाख रुपैयाँ बराबरको सहयोग जुटेको छ ।

पुनर्निर्माणमा नेकपा एमाले अन्नपूर्ण गाउँ कमिटीले पनि संस्थागत पहल गरेको छ । एमाले अन्नपूर्ण गाउँ कमिटीको संयोजनमा ११ वटै वडा कमिटीबाट संकलित १ लाख ३३ हजार १ सय रुपैयाँ र एमाले कास्की जिल्ला कमिटीबाट ३५ हजार रुपैयाँ गरी १ लाख ६८ हजार १ सय रुपैयाँ गाउँपालिकालाई हस्तान्तरण गरेका एमाले अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष चुडामणी अधिकारी बताए ।
सहयोग रकम हस्तान्तरणसँगै एमालेका नेता तथा कार्यकर्ताले पुनर्निर्माणमा आवश्यक सहयोग र सहकार्य जारी राख्ने जनाएका छन् । उक्त रकम २१० घनमिटर ग्याभिन जाली भर्ने श्रम बराबर रहेको छ ।
वीरेठाँटीस्थित सडक निर्माणस्थलमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज एवं पूर्वमन्त्री जगत विश्वकर्मा, प्रदेश सांसद तथा केन्द्रीय सदस्य देवका पहारी, प्रदेश सांसद एवं एमाले नेता गणेशमान गुरुङ, एमाले नेता पुण्य पौडेल, मिसन जागरण अभियानका केन्द्रीय प्रतिनिधि दामोदर पौडेल ‘वैरागी’ एमाले कास्की जिल्ला अध्यक्ष बैरबहादुर अधिकारी क्षेत्री, प्रदेश कमिटी सदस्य तथा अन्नपूर्ण इन्चार्ज भरतमान गुरुङ, विवेक देवकोटा लगायतको उपस्थिति थियो ।
सहयोग रकम गाउँपालिकाका अध्यक्ष विष्णु केसी र उपाध्यक्ष चन्द्रकला अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

क्षतिग्रस्त सडकका विभिन्न खण्डमा अहिले ग्याभिन जाली भर्ने, भत्किएका सडकका भाग जोड्ने तथा आवश्यक संरचना मर्मत गर्ने काम भइरहेको छ । गाउँपालिकाले पुनर्निर्माणका लागि आवश्यक जनशक्ति तथा स्रोत–साधन परिचालन गरेको छ ।
बाढीपछि उद्धार, राहत तथा सडक खुलाउने काममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालित भएका छन । निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, संघ–संस्था, सामाजिक अभियन्ता तथा स्थानीयवासी समेत पुनर्निर्माणमा प्रत्यक्ष रूपमा जोडिएका छन् ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले बाढीबाट क्षतिग्रस्त सडकलाई तत्काल सञ्चालनमा ल्याउने गरी पुनर्निर्माणको कामलाई उच्च प्राथमिकतामा राखि सडक अवरुद्ध हुँदा स्थानीयको दैनिक जीवनसँगै अत्यावश्यक सामग्रीको ढुवानी, स्वास्थ्य सेवा, शिक्षा र पर्यटन क्षेत्रमा समेत असर परेकाले सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
अध्यक्ष केसीले भने सडक सञ्चालनमा नआएसम्म यहाँको जनजीवन सहज हुन सक्दैन । त्यसैले उपलब्ध स्रोत–साधन र जनशक्ति परिचालन गरेर कामलाई तीव्रता दिएका छौं । सबै पक्षको सहयोग रहेमा असोज १५ गतेभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य पूरा हुन्छ भन्ने विश्वास छ ।

उनले विपद्को समयमा उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दल, संघ–संस्था, व्यवसायी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरे ।
वीरेठाँटीदेखि घान्द्रुक, घोडेपानी, छोमरोङ हुँदै अन्नपूर्ण आधार शिविर जोडिने सडक स्थानीयवासीका लागि मात्र नभई अन्नपूर्ण क्षेत्रको पर्यटनको महत्वपूर्ण आधार समेत हो । सडक अवरुद्ध हुँदा पर्यटकको आवागमन, स्थानीय व्यवसाय तथा आर्थिक गतिविधिमा समेत असर परेको छ ।
पुनर्निर्माण पछि सडक सञ्चालनमा आएमा स्थानीयको आवतजावत सहज हुनुका साथै पर्यटन र स्थानीय आर्थिक गतिविधि पुनः चलायमान हुने अपेक्षा गरिएको छ । अहिले गाउँपालिकाको नेतृत्वमा विभिन्न पक्षको सहयोग र सहभागितामा क्षतिग्रस्त सडक तथा पूर्वाधार जोड्ने काम अघि बढिरहेको छ ।




