newa srijana

जय घरपझोेङ !

मुस्ताङमा पर्यटक संख्यामा व्यापक बृद्धि

घनश्याम पौडेल
सडक सञ्जाल जोडिएपछि कुनै पनि गन्तव्यमा पर्यटकको चाप कसरी बढ्छ भन्ने बुझ्न मुस्ताङको अध्ययन गरे पुग्छ । म आज यस लेखमा बीस वर्षअघिको मुस्ताङ र आजको मुस्ताङको तुलनात्मक अनुभव संक्षेपमा लेख्दैछु ।
सबैभन्दा पहिला पुरानो तथ्याङ्क हेरौं है त, हिमाली जिल्ला मुस्ताङमा सन् २००७ मा केवल २ हजार विदेशी पर्यटक आएका थिए । सन् २०१६ मा ३९ हजार विदेशी प्रवेश गरेकामा १५ हजारभन्दा बढी त भारतीय नै थिए । त्यस्तै सन् २०२६ को सङ्ख्या थियो, २ लाख ४५ हजार ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएअनुसार अघिल्लो जेठ महिना अर्थात् मे महिनामा मात्र ९१ हजार बिदेशी मुस्ताङ आए । तीमध्ये ९० प्रतिशत भारतीय थिए, जो धार्मिक पर्यटक हुन् ।
मुस्ताङमा यस वर्ष आन्तरिक तथा बाह्य पर्यटक हवात्तै बढेको देखिन्छ । आन्तरिक पर्यटकको यकिन तथ्याङ्क राखिँदैन । तर, अनुमानित डाटाका आधारमा यो वर्ष करिब ७ लाख पर्यटकले मुस्ताङ भ्रमण गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिहं लालचन बताउँछन् ।
मुस्ताङ सम्झनेवित्तिकै आँखामा मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र लोमन्थाङको चित्र आउँछ ।
पवित्र भूमि हो, मुस्ताङ । लेखकहरूका माध्यमबाट आफ्नो गाउँपालिकाका पर्यटकीय सम्पदाहरूको प्रचारप्रसार गर्ने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले गत असार दोस्रो साता नेपालका प्रख्यात कवि, लेखक र पत्रकारको १५ सदस्यीय टोलीलाई घुमाएको थियो ।
‘घरपझोङ काव्ययात्रा–२०८३’ नामकरण गरिएको यात्रामा नेपालको राष्ट्रिय गानका लेखक व्याकुल माइला, अभय श्रेष्ठ, अनुपम रोशी, शिव प्रकाश, भूपिन, सागर उदास, लक्ष्मण थापासहितको सहभागिता थियो ।
घरपझोङ गाउपालिकाका अध्यक्ष मोहनसिंह लालचन तथा उपाध्यक्ष जमुना थकाली थापामगरको समूहले हामीलाई घरपझोङका ६ ओटा गाउँ मार्फा, स्याड., ठिनी, चिमाङ, छैरो र जोमसोम घुमायो ।
यात्रामा मार्फा, जोमसोमलगायत समग्र मुस्ताङको विकास तथा पर्यटकीय गतिबिधि र स्थानीयमा आएको विकासको प्रभाव प्रत्यक्ष अवलोकन गर्ने र आधिकारिक नेतृत्व मार्फत् बुझ्ने अवसर मिल्यो ।
अध्यक्ष मोहनसिह दुरदृष्टि भएका जनप्रतिनिधि रहेछन् । यसपालाको यात्रामा घरपझोङको परिवर्तित स्वरुपलाई नजिकबाट विश्लेषण गर्ने अवसर प्राप्त गरें ।
मुस्ताङ मेरा लागि नौलो ठाउँ हैन, म धेरै पटक त्यहाँ घुमेको छु । पहिलो पटक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजनामा हामी पोखराका १५ जना सदस्यले भ्रमण गरेका थियौं ।
ठिक २० वर्ष अघि अर्थात् वि.सं. २०६४ मध्य असारमा मैले देखेको मुस्ताङ र उनताका मुस्ताङ्गी जनताले भनेका कुरा सम्झिरहेको छु । त्यो बेलाको चित्र र यो बेलाको चित्रलाई म तुलना गर्ने प्रयास गर्दैछु ।
पैंतीस सय वर्ग किलोमिटरमा फैलिएको मुस्ताङको भौगोलिक सुन्दरता, सांस्कृतिक वैभव र अनौठो हिमाली उपत्यका अवलोकन गर्न वर्षेनी हजारौं पर्यटक आउँछन् ।
मुस्ताङ घुम्नका लागि आउने पर्यटक विशेषतः तीन किसिमका हुन्छन् । पहिलो, आन्तरिक पर्यटक जो नेपाली हुन, उनीहरू धार्मिक पर्यटकका रुपमा घुम्ने र खासगरी कागबेनी, मुक्तिनाथ र लोमन्थाङको दर्शन गर्छन् । यस्ता नेपालीलाई पर्यटकका रुपमा गणना गरेर रेकर्ड राख्ने चलन छैन । अनुमानका आधारमा सङ्ख्या बताइन्छ ।
दोश्रो किसिमका पर्यटक भारतीय हुन्छन्, उनीहरू प्रायः मुक्तिनाथ दर्शनका लागि आउँछन् । कोही कोही विशुद्ध पर्यावरण पर्यटक पनि हुन्छन् ।
तेश्रो वर्गका पर्यटकमा सार्क देशभन्दा बाहिरका हुन्छन्, उनीहरू विशुद्ध घुम्न र सो क्षेत्रको अध्ययन, अवलोकन तथा प्रकृतिसँग रमाउन आएका हुन्छन ।
फर्केर हेर्दा सन् २०१० देखि मुस्ताङमा पर्यटक संख्यामा व्यापक बृद्धि भएको देखिन्छ । जब म्याग्दीको सदरमुकाम बेनीबजारसँग जोमसोम र मुक्तिनाथ जोडियो तब पर्यटक सङ्ख्या बढ्यो ।

सिटीजन फनिच्रर


सन् २००७ को हाम्रो भ्रमण मुस्ताङमा पर्यटकीय पदमार्गमा मोटरबाटोले कति असर पार्छ र त्यसको बैकल्पिक उपाय के हुन सक्छ भन्नेमा केन्द्रीत अध्ययन भ्रमण थियो । त्यो बेला मुस्ताङका बासिन्दा दुई कित्तामा बाँडिएका थिए ।
एकथरि पर्यटन व्यवसायी र पदमार्गका स्थानीयले भनेका थिए, ‘मोटरबाटोले हाम्रो होटल र पर्यटकीय व्यवसाय चौपट बनाउने छ । हाम्रो स्याउ र अन्य आय स्रोतमा कमी आउनेछ ।’उनीहरू डराएका थिए ।
अर्कोथरी अधिकांश स्थानीय भन्थे, ‘मोटरबाटो आउनु पर्छ । यसले मुस्ताङको अझै विकास हुन्छ ।’
अहिलेको अवस्थाले पछिल्लो स्थानीयको अनुमान सही साबित भएको छ । २० वर्ष अघिको तुलनामा मार्फामा स्याउ बगान भएको फाँटमा सडक र होटल बनेका छन । स्याउ बगैंचा पहाडका माथिल्ला भाग चिमाङ, छैरो र स्याङतिर बिस्तारित भएको देखिन्छ ।
ठिनी र स्याङ गाउँमा होमस्टे चलेका छन् भने जोमसोम र मार्फामा आधुनिक होटलको सङ्ख्या दिनदिनै थपिँदो छ ।
आन्तरिक तथा बाह्य पर्यटकले यहाँका होटल र पसलमा पैसा खर्च गर्ने मात्र होइन, यहाँका स्याउ, मौसमअनुसार फलफूल, आलु, टिमुर तथा मार्फा ब्रान्ड जस्ता रक्सी र जाम कोसेलीका रुपमा लैजाने गरेका छन् ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन भन्छन्, ‘अहिले मुस्ताङमा उत्पादित बस्तुले बजार खोज्नु परेको छैन, बरु बजारले नै बस्तु र अझ बढी उत्पादन खोजिरहेको छ ।’
यो सवै हुनुमा मुस्ताङ प्रवेश गर्ने मोटरबाटो नै प्रमुख हो । हिजो पदयात्रा मार्ग थियो, पदयात्रामा आउने पश्चिमा पर्यटकका लागि नै होटल तथा सेवा सुविधा थिए । अहिले अझ उच्चस्तरिय तारे होटलका साथै सामान्य बजेट पर्यटकका लागि पनि हुने होटल, र अन्य व्यवसाय चलेका छन् ।
मुस्ताङमा स्याउ भित्र्याउने स्याउबाजे भनेर चिनिने बुद्धिरत्न शेरचनसँग मैले सन् २००७ मा लिएको अन्तर्वार्तामा उनले भनेका थिए ‘हामीले स्याउ त उत्पादन ग¥यौं तर बजार नपाएर गाईलाई खुवाउनु परेको छ । यो आउन लागेको मोटरबाटोले हाम्रो स्याउले मूल्य पाउने छ र मुस्ताङका जनता अझ सम्पन्न बन्ने छन् ।’
वास्तवमा स्याउबाजेका ती कुरा अहिले सत्य र यथार्थमा परिणत भइरहेको देखिन्छ । सडकभन्दा पर गाउँमा बस्ने हरेक गाउँलेले, स्याउ, खुर्पानी, आलु वा तरकारी खेती गरेर राम्रो कमाई गर्न सकेका छन् ।
घरपझोङकै कुरा गर्दा गाउँहरू कालिगण्डकी दायाँबायाँ रहेका छन् । नजिक नजिकै छन् । मूल सडक कालोपत्रे भएको छ । ठिनीभन्दा माथि ढुम्बाताल भएर कुछप तेरेङ्गा गुम्बासम्म सडक पिच छ । अब पिच गर्न बाँकी भनेको छैरो र चिमाङ गाउँका सडक हुन् ।
यसो हेर्दा सडक छेउका होटल तथा अन्य व्यसाय गुल्जार देखिन्छ ।
यसपालको काव्ययात्रामा जोमसोम वरपरको अत्यधिक विकास र प्रगति नजिकबाट नियाल्न पाइयो । हामी घरपझोङका सबै गाउँ घुम्यौं । अनि मार्फा, ठिनी र स्याङमा एक एक रात वितायौं ।
बीस वर्ष अघिसम्म पोखराभन्दा निकै पर अनकन्टार लाग्ने जोमसोम मोटरबाटोले गर्दा सुगम बनेको छ । पोखरा नजिकको मनमोहक पर्यटकीय गन्तव्य बनेको छ ।
समग्रमा, घरपझोङ काव्ययात्राले मलाई घोत्लिन बाध्य बनायो । आज उपल्लो मुस्ताङको लोमन्थाङ हुँदै कोरोला नाकासम्म सडक पुगेको छ । घरपझोङ गाउँपालिकाका सबै गाउँहरूमा सडक जोडिएको छ ।
घरपझोङ गाउँपालिकाका सबै गाउँलाई जोड्ने पद्यसंभव चक्रपथ पनि बनाइएको रहेछ । जिप वा मोटरबाइकमा एकै दिनमा घरपझोङको फन्को मार्न सकिन्छ ।
घरपझोङ भनेको मार्फा, जोमसोम, ठिनी र ढुम्बाताल मात्र होइन, सम्ले, चिमाङ र स्याङ गाउँ पनि हुन् भन्ने कुरा अब पर्यटकले बुझ्नेछन् । ती ठाउँ घुम्नेछन् भन्ने मलाई विश्वास छ ।
बिस वर्षअघिको मुस्ताङ र आजको मुस्ताङमा आएका परिवर्तनको प्रभाव देखेर मन खुसी भयो । विकासको बाटोमा लम्किँदा हामीले वातावरणमैत्री भएर पर्यटन र कृषिबाट समृद्धिको उकालो चढ्नु छ ।
चिसोमा उत्पादित फलफूल र तरकारी मिठो हुन्छ । त्यसैले घरपझोङले उत्पादनमा जोड दिनु पर्दछ । आजका दिनमा जोमसोमबाट ५ घण्टामै पोखरामा सप्लाई गर्न सकिन्छ ।


सबैलाई थाहा छ, हामी बस्ने पोखरा सहरमा लाखौंको बसोबास छ । हामी हिमाली भेगका ताजा उत्पादनको पर्खाइमा छौं ।
अन्त्यमा, यस काव्ययात्राले घरपझोङको प्रकृति र संस्कृति मात्र होइन, थकाली सभ्यतालाई पनि नजिकबाट नियाल्ने अवसर मिल्यो । त्यसैले हामीलाई न्यानो स्वागतका साथ घरपझोङ घुमाउने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलगायत सबै गाउँलेप्रति आभारी छु ।
यतिबेला म, ठिनी र स्याङ गाउँका होमस्टेको सत्कार सम्झेर पुलकित भएको छु ।
प्रिय घरपझोङ ! म फेरि आउने छु, तिम्रो दर्शन गर्न ।

Pokhara learners