newa srijana

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

तनहुँको शुक्लागण्डकी–२ दगाममा भिटोफ गण्डकीले असोज ५–६ गते ४७औं विश्व पर्यटन दिवसका अवसरमा घरबास मगर समुदायको बाहुल्यता रहेको तनहुँको शुक्लागण्डकी–२ दगाम गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गरिएको छ

पोखरा । तनहुँको शुक्लागण्डकी–२, दगाम गाउँको चिनारी दृश्यावलोकनमा मात्र सीमित छैन, यहाँको मगर समुदायको मौलिक जीवनशैली, खानपान र आतिथ्यले जोकोहीको मनै लोभ्याउँछ । दमागलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ), गण्डकी प्रदेशले गन्तव्य गाउँको रुपमा सिफारिस गरेसँगै यसको चर्चा झनै चुलिएको छ ।

भिटोफले बर्सेनि तीनवटा गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गर्ने गरेकोमा यसपालि दगाम सूचीमा परेको हो । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ गाउँलाई पर्यटनसँग जोड्ने अभियानमा आफूहरू लागिपरेको भिटोफका अध्यक्ष रमेश अर्यालले बताए । अन्नपूर्ण हिमालको पदयात्राको प्रवेशद्वार तथा पहाडैपहाडका गाउँ भएकाले गण्डकी प्रदेशमा गाउँ पर्यटनको सम्भावना धेरै रहेको उनले बताए ।

शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले ब्यानर वाचन गरी घरबास प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्दै

गण्डकीबाट विगतमा गन्तव्य गाउँका लागि सिफारिस भएका गाउँमध्ये अधिकांशमा गुरुङ समुदायको बस्ती रहेको गाउँको बाहुल्यता थियो । तर यहाँका २३ घरमध्ये २० घर मगर र तीन घर मात्र गुरुङ समुदायको रहेको छ । गाउँको विशेषता मगर समुदायको मौलिक भेषभूषा, नाचगान, संस्कृति आदि हुन् ।

२०६५ सालमा सिरुबारी गाउँ अवलोकन गरेपछि गाउँलेहरू मिलेरै दगाम सामुदायिक होमस्टे सुरु गरेका थिए । होमस्टे संयोजक नन्दलाल थापाले पोखरासहित भैरहवा, बुटवल, नारायणगढ तथा काठमाडौंबाट समेत पाहुना आउन थालेको बताए । चारैतिर खुलेको डाँडाबाट दृश्यावलोकन गर्न सकिने तथा एउटै स्थानबाट धौलागिरि हिमालका विभिन्न चुचुरादेखि गणेश हिमालसम्म देख्न सकिने भएकाले दगाम पर्यटकको रोजाइमा पर्न थालेको बताए । पाहुनालाई कोदो, मकै, पिँडालु, सिस्नुलगायत स्थानीय उत्पादनबाट तयार पारिएका परिकारसँगै गाउँमै उत्पादित मह खुवाउने गरिएको उनले बताए ।

सिटीजन फनिच्रर

आन्तरिक पर्यटक मुना कोइरालाले उत्तरमा मनोरम हिमश्रृंखला, डाँडाकाँडा र प्राकृतिक दृश्यले आकर्षित गरेको र स्थानीय अर्गानिक उत्पादनबाट तयार परिकार खुवाउने शैलीले नयाँ अनुभव दिएको बताइन् । स्थानीय सांस्कृतिक नृत्य साथै समुदायको संस्कृतिलाई नजिकबाट बुझ्ने अवसरसमेत पाएको बताइन् ।

शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितले दगाम होमस्टेलाई नगरपालिकाले राष्ट्रिय तथा प्रादेशिक प्राथमिकतामा राखेर विकास गरिरहेको जानकारी दिए । सरसफाइ, सुरक्षा, इन्टरनेटलगायत आवश्यक सुविधा विस्तार गर्नुका साथै पर्यटनसम्बन्धी निकाय र पोखरा महानगरपालिकासँग सहकार्य गरेर पोखराबाट पर्यटक ल्याउने प्रयास भइरहेको उनले बताए ।

शुक्लागण्डकी–२ दगाम तनहुँमा भिटोफ गण्डकीले आयोजना गरेको घरबास प्रवर्द्धन कार्यक्रममा

यसैबीच, भिटोफ गण्डकीले दगाममा असोज ५ र ६ गते घरबास प्रवद्र्धन कार्यक्रम गरेको छ । ४७ औं विश्व पर्यटन दिवस अवसरमा डिजिटल एजेण्डा र कृत्रिम बुद्धिमतामार्फत पर्यटनको नयाँ स्वरुप निर्माण नाराका साथ दगाम सामुदायिक होम स्टेको स्थानीय आयोजनामा उक्त कार्यक्रम भएको हो ।‌ कार्यक्रममा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका शाखा अधिकृत रामहरि ढुंगाना, भिटोफ गण्डकीका सल्लाहकार टिकाराम सापकोटा र पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरेराम अधिकारीले विश्व पर्यटन दिवसको महत्त्व र ग्रामीण पर्यटनले स्थानीय अर्थतन्त्रमा पुर्‍याउने योगदानबारे धारणा राखेका थिए ।

शुक्लागण्डकी–२ दगाम तनहुँमा भिटोफ गण्डकीले आयोजना गरेको घरबास प्रवर्द्धन कार्यक्रममा

कार्यक्रममा हाइकर्स क्लब नेपाल, नेपाल पर्यटन बोर्ड, नेपाल पंछि समाज, टुर एण्ड ट्राभल्स एसोसिएसन, पोखरा महानगरपालिका आर्थिक महाशाखा र पोखरा व्यवसाय प्रवर्द्धन केन्द्रलगायतका संघसंस्थाका प्रतिनिधि सहभागी थिए । भिटोफ गण्डकीका प्रथम उपाध्यक्ष विश्वराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सचिव विशाल पौडेलले सञ्चालन गरेका थिए ।

Rabin photo