newa srijana

पोखरामा कात्तिक १३ गते बिपुल क्षेत्रीको लाइभ कन्सर्ट

‘प्रवाह नेपाल टुर २०२६’ अन्तर्गत लेकसाइडको बाराहीघाट मैदानमा हुने कार्यक्रममा तीन श्रेणीका टिकट उपलब्ध

पोखरा । गायक तथा गीतकार बिपुल क्षेत्रीले आगामी कात्तिक १३ गते शुक्रबार पोखरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएका छन्। उनको ब्यान्डसहितको ‘बिपुल क्षेत्री लाइभ इन पोखरा’ कन्सर्ट पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा आयोजना हुने भएको हो।

एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रस्तुतिमा हुने कार्यक्रम प्रचार नेपाल प्रालिले आयोजना गर्न लागेको हो। यो बिपुलको नेपाल भ्रमणअन्तर्गत सञ्चालन भइरहेको ‘प्रवाह नेपाल टुर २०२६’ को एक प्रस्तुति हो। टुरको व्यवस्थापन तथा सञ्चालन ताक्षक इन्टरटेनमेन्ट र प्रोजेक्ट स्टुडियोले गरिरहेका छन्।

कार्यक्रमका प्रारम्भिक चरणका टिकट बिक्री खुला भइसकेका छन्। दर्शकले खल्ती एप तथा अनलाइन प्लेटफर्ममार्फत टिकट खरिद गर्न सक्नेछन्।

नेपाली समकालीन संगीतमा मौलिक गायन शैली, लोकसंगीतको प्रभाव र एकुस्टिक प्रस्तुतिका लागि परिचित बिपुलका गीत नेपालसँगै विदेशमा रहेका नेपाली संगीतप्रेमीमाझ पनि लोकप्रिय छन्। पोखरामा हुने कन्सर्टमा उनले आफ्नो ब्यान्डसहित प्रत्यक्ष प्रस्तुति दिनेछन्। कार्यक्रममा पोखरासहित गण्डकी प्रदेशका विभिन्न जिल्ला र अन्य सहरबाट दर्शक आउने आयोजकको अपेक्षा छ।

प्रचार नेपालका सञ्चालक आशिष पुरीले पोखरामा गुणस्तरीय प्रत्यक्ष सांगीतिक कार्यक्रम आयोजना गर्ने उद्देश्यले कन्सर्टको तयारी अघि बढाइएको बताए। उनका अनुसार कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र दर्शकमैत्री बनाउन आवश्यक तयारी गरिनेछ।

सिटीजन फनिच्रर

यस्ता कार्यक्रमले पोखरालाई सांगीतिक तथा मनोरञ्जनको गन्तव्यका रूपमा स्थापित गर्न र स्थानीय पर्यटन तथा मनोरञ्जन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक महेश्वरसिंह भण्डारीका अनुसार कन्सर्टमा सांगीतिक प्रस्तुतिसँगै खानाका स्टल पनि रहनेछन्। दर्शकले कार्यक्रमस्थलमा विभिन्न परिकारको स्वाद लिन पाउने आयोजकले जनाएको छ।

‘प्रवाह नेपाल टुर २०२६’ मार्फत बिपुल क्षेत्री र उनको ब्यान्डले नेपालका विभिन्न सहरमा प्रस्तुति दिने कार्यक्रम छ। टुरको उद्देश्य नेपाली संगीतलाई देशका विभिन्न सहरका दर्शकमाझ प्रत्यक्ष रूपमा पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

टुर व्यवस्थापन गरिरहेको ताक्षक इन्टरटेनमेन्टका निर्देशक सुमन भट्टराईले टुरमार्फत विभिन्न सहरका दर्शकसँग प्रत्यक्ष सांगीतिक सम्बन्ध स्थापित गर्ने लक्ष्य राखिएको बताए। नेपाली संगीतको प्रवर्द्धन, प्रत्यक्ष सांगीतिक कार्यक्रमको संस्कृति विकास र नेपाली कलाकारका प्रस्तुतिलाई थप दर्शकमाझ पुर्‍याउन यस्ता टुर महत्त्वपूर्ण हुने उनले बताए।

कन्सर्टका लागि जनरल, गोल्ड सर्कल र भीआईपी गरी तीन श्रेणीका टिकट उपलब्ध छन्। टिकटको उपलब्धता र अद्यावधिक मूल्य खल्तीको आधिकारिक टिकट पेजमा हेर्न सकिनेछ।

पोखराको लेकसाइड क्षेत्र होटल, रेस्टुरेन्ट तथा मनोरञ्जन गतिविधिका लागि परिचित छ। आयोजकले कन्सर्टले स्थानीय दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै अन्य सहरबाट आउने आगन्तुकलाई आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ। प्रचार नेपालले कार्यक्रमस्थल व्यवस्थापन, प्रचारप्रसार, ब्रान्डिङ र आवश्यक समन्वयको काम गरिरहेको जनाएको छ।

Rabin photo