पोखरा । पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
राति घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित १४ जना सवार थिए।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि जीएमसी अस्पताल पुर्याइएको थियो। घाइतेमध्ये पर्वत घर भई हाल पोखरा-२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको अवस्था गम्भीर थियो। अनुहार, घाँटी र छातीमा चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको हो।
जिप पर्वतको पैयूँ गाउँपालिका-७ घर भई पोखरा-२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुर गुरुङले चलाएका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घाइते १२ जनामध्ये सात जनाको अवस्था मध्यम र पाँच जनाको सामान्य छ। घाइतेहरू ११ देखि २० वर्ष उमेर समूहका छन्। तीमध्ये आठ जना १८ वर्षमुनिका छन्।




