पोखरा । राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापा सम्मानित हुने भएका छन् । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको पुरस्कारको राशि ३३ हजार ३३३ रुपैयाँ र ताम्रपत्र छ ।
बागलुङको गलकोट नगरपालिका–७, मल्म स्थायी घर भएका थापा राष्ट्रिय समाचार समितिमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्षसमेत रहेका उनी ‘राम थापा अविरल’ नामबाट साहित्य तथा गीत लेखनमा पनि सक्रिय छन् ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय थापाले स्वास्थ्य क्षेत्रका गतिविधि र समस्यालाई उजागर गर्न योगदान पुर्याएकाले पुरस्कारका लागि छनोट गरिएको प्रतिभा छनोट समितिका संयोजक केशवशरण लामिछानेले बताए ।

छनोट समितिमा पत्रकारद्वय फडिन्द्र अकिञ्चन र ऋषि खतिवडा, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ तथा प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला सदस्य छन् ।
पोखराको न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले युआरएल फाउन्डेसन प्रवर्द्धन गरेको हो । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याबका रूपमा स्थापित युआरएलले फाउन्डेसनमार्फत स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि उक्त पुरस्कारबाट जमुना वर्षा शर्मा, दीपेन्द्र श्रेष्ठ, आरजू विष्ट ‘सल्यानी’, हरि बास्तोला, प्रदीप पौडेल, सुरेन्द्र पौडेल, यदुनाथ बञ्जारा र ऋषि खतिवडा सम्मानित भइसकेका छन् ।
फाउन्डेसनले प्रदान गर्दै आएको लाइफ टाइम एचिभमेन्ट अवार्ड भने यस वर्ष स्थगित गरिएको छ । युआरएलका अध्यक्ष पन्थले मंसिर २३ गते हुने संस्थाको वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने बताए ।




