पोखरा । चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, मात्रा घटाउने र उपचार पूरा नहुँदै औषधि छाड्ने प्रवृत्तिले प्रतिजैविक प्रतिरोध एएमआर (Antimicrobial Resistance) को समस्या बढाएको छ। नेपालमा प्रयोग हुने एन्टिबायोटिकमध्ये सामान्य संक्रमणमा पहिलो रोजाइका रूपमा प्रयोग गर्नुपर्ने एक्सेस समूहका औषधिको हिस्सा ३६.२ प्रतिशत मात्र छ।
सन् २०३० सम्म यो हिस्सा कम्तीमा ७० प्रतिशत पुर्याउने अन्तर्राष्ट्रिय लक्ष्य छ। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा विज्ञहरूले यसबारे बताएका हुन्।
एन्टिबायोटिकको अव्यवस्थित प्रयोगले औषधि नै प्रभावहीन हुने अवस्था सिर्जना गरेको गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले बताए। यसको नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र नागरिक सबै जिम्मेवार हुनुपर्ने पनि उनले बताए।
विश्व स्वास्थ्य संगठन (World Health Organization WHO) ले एन्टिबायोटिकलाई एक्सेस, वाच र रिजर्भ गरी तीन समूहमा वर्गीकरण गरेको छ। सामान्य संक्रमणमा पहिलो रोजाइका रूपमा प्रयोग गरिने औषधि एक्सेस समूहमा पर्छन्। औषधि व्यवस्था विभागको तथ्यांक विश्लेषण गरेका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन डा. शरदचन्द्र बरालका अनुसार सन् २०२४ मा नेपालमा प्रयोग भएका एन्टिबायोटिकमध्ये एक्सेस समूहको हिस्सा ३६.२ प्रतिशत थियो।
अस्पतालमा भर्ना भएका बिरामीमा गरिएको सर्वेक्षणमा प्रयोग भएका एन्टिबायोटिकमध्ये ७०.१ प्रतिशत वाच समूहका थिए। एक्सेस समूहका २९.८ प्रतिशत र अन्य औषधिले काम नगरेका अवस्थामा मात्र प्रयोग गरिने रिजर्भ समूहका ०.१ प्रतिशत थिए।

राष्ट्रिय प्रयोगशाला निगरानीअनुसार बहुऔषधि प्रतिरोधको दर ई. कोलाईमा करिब ५१ प्रतिशत, क्लेबसिएलामा ५६ प्रतिशत र एसिनेटोब्याक्टरमा ७२ प्रतिशत पुगेको छ। डब्लुएचओका अनुसार सन् २०२१ मा नेपालमा एएमआरका कारण अनुमानित ४ हजार ७०० जनाको मृत्यु भएको थियो। एएमआरसँग सम्बन्धित मृत्यु भने १९ हजार ५०० भन्दा बढी थियो।
बालबालिका र ज्येष्ठ नागरिकमा एन्टिबायोटिकको प्रयोग बढी हुने भएकाले चिकित्सकको परामर्शबिना औषधि पसलबाट किनेर नखुवाउन डा. बरालले बताए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन उद्धृत गर्दै प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखराका फार्मेसी अधिकृत साजन बरालले चिकित्सकको सिफारिसबिना औषधि किनेर प्रयोग गर्नुका प्रमुख कारणमा पहिले आफैँ औषधि प्रयोग गरेको बानी २३.०१ प्रतिशत र अस्पताल पुग्न सम्भव नहुनु १५.०४ प्रतिशत रहेको बताए।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखराका वरिष्ठ पशु चिकित्सक डा. किरण पाण्डेका अनुसार प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये बहुऔषधि प्रतिरोधीको हिस्सा १३ प्रतिशतबाट बढेर ४७ प्रतिशत पुगेको छ। मानिसमा देखिने संक्रामक रोगमध्ये ६० प्रतिशत जनावरबाट सर्ने भएकाले पशुपन्छी, मासु, दूध र वातावरणमा औषधि प्रतिरोधले जनस्वास्थ्यमा असर पार्न सक्ने उनले बताए।
औषधि व्यवस्था विभागले एन्टिबायोटिकको खोलमा रातो धर्का अनिवार्य गर्ने, चिकित्सकको सिफारिसबिना बिक्री गर्न नपाइने व्यवस्था गर्ने र १०३ प्रकारका कम्बिनेसन औषधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पशुपन्छीको उपचारमा प्रयोग हुने कोलिस्टिनको उत्पादन, पैठारी र बिक्री वितरणमा पनि रोक लगाइएको छ।




