newa srijana

दशौं राष्ट्रिय खेलकुदमा प्रतिभाका २२ विद्यार्थी सहभागी हुने

कर्णालीमा मंसिर १६ देखि प्रतियोगितामा प्रतिभाका विद्यार्थी सात खेलमा प्रतिस्पर्धा गर्नेछन्

पोखरा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिभा माध्यमिक विद्यालयका २२ विद्यार्थीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। मुख्य खेल भने मंसिर ८ गतेदेखि सुरु हुनेछन्। प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ।

विद्यालयका विद्यार्थीले ह्यान्डबल, बास्केटबल, लन टेनिस, हक्की, चेस, टेबल टेनिस र महिला क्रिकेटमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने विद्यालयका प्राचार्य किरण सापकोटाले बताए।

लन टेनिसमा दर्शिल श्रेष्ठ, हक्कीमा सञ्जु थापा, चेसमा दिलासा थापा, पुरुष बास्केटबलमा ओमकार रकाल, टेबल टेनिसमा दीप निशान शाही तथा महिला क्रिकेटमा सेरिना थापाले प्रतिस्पर्धा गर्नेछन्।

सिटीजन फनिच्रर ..

महिला ह्यान्डबलतर्फ कुसुम बानियाँ, स्वेच्छा थापा, रोशनी पुन, सोफिया गुरुङ र कञ्चन राना मगर छनोट भएका छन्। महिला बास्केटबलतर्फ स्वेच्छा पुन, क्यारोल श्रेष्ठ, एलिशा पुर्जा, जेनिशा पाण्डे, प्रेमकुमारी विक, नवीना गुरुङ, नन्दिता गुरुङ, श्रेया गुरुङ, अंशु थापा, युबिना श्रेष्ठ र कुसुम गुरुङले प्रतिस्पर्धा गर्नेछन्।

राष्ट्रियस्तरको प्रतियोगितामा विद्यार्थीको सहभागिताले उनीहरूको खेल प्रतिभा विकास हुनुका साथै आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता बढाउन सहयोग पुग्ने विद्यालयको विश्वास रहेको प्राचार्य सापकोटाले बताए। यसले विद्यालयसँगै गण्डकी प्रदेशको गौरव बढाउने अपेक्षा गरिएको पनि उनले बताए।

प्रतियोगितामा सहभागी हुने विद्यार्थीलाई उत्कृष्ट प्रदर्शन र सफलताको शुभकामना दिँदै विद्यालयले खेल भावना कायम राखेर प्रदेश र विद्यालयको प्रतिष्ठा उच्च बनाउने विश्वास व्यक्त गरेको छ। विद्यार्थीले प्रदेशको नामसँगै देशको पहिचान बदल्न भूमिका खेल्ने प्राचार्य सापकोटाले बताए।

Byd