पोखरा । पाल्पाको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रानीमहलमा गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले बैठक गरेका छन् ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बैठक गरेका हुन् । बैठकले सरकारी तथा निजी क्षेत्रका हवाई कम्पनीसँग मिलेर नेपालगञ्जदेखि मुस्ताङको जोमसोम र भैरहवादेखि जोमसोमसम्म उडान गर्न पहल गर्ने, सिद्धार्थ राजमार्गको पोखरा–बुटवल सडकखण्डलाई दुई लेनमा विस्तार गर्न संघ सरकारलाई अनुरोध गर्ने, संघ सरकारले बजेटमा समेटेको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनका लागि पहल गर्नेसहित २१ वटा निर्णय गरेको छ ।
बैठकमा दुई वटै प्रदेशसँग जोडिएका साझा विकास आयोजना र धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको विकासको विषयमा छलफल भयाे ।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर प्रदेश साझा सरोकारका विषयलाई सामूहिक रुपमा सम्बोधन गर्न सकिने बताए। सडक पूर्वाधार, हवाई यातायात, सुरक्षा, कृषि, पर्यटन लगायत साझा सरोकारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
उनले प्रदेशका साझा सरोकारका विषयलाई संयुक्तरुपमा आवाज उठाउन पनि जरूरी रहेको बताए। बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई पोखरासम्म पुर्याउने बारेमा पनि साझा योजना बनाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
सिद्धार्थ राजमार्गको विस्तार, बसाइँसराइँका कारण पहाडी जिल्लाहरू रित्तिन थालेको विषय पनि दुई प्रदेशको साझा सरोकारभित्र पर्नुपर्ने उनले बताए ।
बैठकलाई सम्बोधन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले प्रदेशहरूबीचको सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताए । आचार्यले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताए । ‘लुम्बिनी र गण्डकी प्रदेशहुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरू अघि बढेका छन् । तर, केही योजनाहरू अपेक्षित रूपमा अघि नबढ्दा समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘यी समस्या पनि आपसी समन्वय र सहकार्यबाट समाधान गर्न सकिन्छ ।’
बुटवल–नारायणघाट सडक खण्ड, कालिगण्डकी कोरिडोरको बाँकी रहेका काम चाँडो सम्पन्न गर्न प्रदेश तहबाट पहल सुरु गरिएको उनले बताए ।
रानीमहलमा बसेको गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीको बैठकले के–के गर्यो २१ वटा निर्णय ?