newa srijana

पर्यटन पत्रकार संघको अध्यक्षमा बास्तोला

१५ सदस्यीय तदर्थ समिति गठन, कास्की प्रशासनमा दर्ता

पोखरा । नेपाल पर्यटन पत्रकार संघको अध्यक्षमा हरिप्रसाद बास्तोला चयन भएका छन्। पोखरामा गठित संघको १५ सदस्यीय तदर्थ समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट दर्ता प्रमाणपत्र पाएको छ।

संघको उपाध्यक्षमा गोविन्द सुवेदी र कृष्ण श्रेष्ठ, महासचिवमा घनश्याम पाण्डे, सचिवमा एकराज गिरी र समावेशी सचिवमा विजय नेपाली चयन भएका छन्। कोषाध्यक्षमा चन्द्रिका घिमिरे छन्। सदस्यमा पुष्पराज दाहाल, बालकुमारी पौडेल, बिना कुमारी थापा, सरिता गुरुङ, दिनानाथ बराल, राम गुरुङ, राजु गिरी र रामशरण नेपाली छन्।

सिटीजन फनिच्रर ..

दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए। नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पत्रकारिताले योगदान पुर्‍याउन सक्ने उनले बताए। उनले पर्यटकीय गतिविधिमा सुरक्षालाई प्राथमिकता दिन पनि आग्रह गरे।

अध्यक्ष बास्तोलाले सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय गन्तव्य, कला, संस्कृति र प्राकृतिक सम्पदाको पहिचान तथा प्रवर्द्धनमा संघले काम गर्ने बताए। पर्यटन क्षेत्रको प्रचारप्रसारसँगै खोजमूलक पत्रकारितालाई प्राथमिकता दिने उनले बताए।
पर्यटन पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिक हकहित संरक्षण र पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य गर्ने संघको योजना रहेको उनले बताए। संघको आगामी कार्ययोजना पहिलो बैठकपछि सार्वजनिक गर्ने पनि उनले बताए।

महासचिव घनश्याम पाण्डेले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पत्रकारिताको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले संघ गठन गरिएको बताए। पर्यटकीय गन्तव्यको पहिचान, खोज र प्रचारप्रसारलाई संघले प्राथमिकता दिने उनले बताए।

Byd